रास्वपाले १८ वर्षमुनिका ३५ हजारभन्दा बढीलाई सदस्य बनाएको भन्दै कांग्रेसको संसदमा प्रश्न
काठमाडौं, १४ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १८ वर्षमुनिका बालबालिकालाई पार्टी सदस्य बनाएको भन्दै प्रतिनिधिसभामा प्रश्न उठाएको छ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद रेनुका काउँचाले रास्वपाको सदस्यता विवरणअनुसार १८ वर्षमुनिका ३५ हजार ३ सय ५७ जना पार्टी सदस्य रहेको देखिएको दाबी गरिन्।
उनले यस्तो कार्य नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को विपरीत रहेको उल्लेख गर्दै सरकारसँग स्पष्ट जवाफ मागिन्।
“रास्वपाको सदस्यता सूची हेर्दा १८ वर्षमुनिका पनि ३५ हजार ३ सय ५७ जना सदस्य रहेको देखिन्छ। औपचारिक रूपमा सार्वजनिक भएको यो विषयप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,” उनले संसदमा भनिन्।
नेपालको संविधान तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार १८ वर्ष नपुगेका बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन पाइँदैन। उक्त व्यवस्था उल्लंघन गरेमा ८० हजार रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी प्रावधान रहेको उल्लेख गर्दै काउँचाले, “के यो व्यवस्था रास्वपालाई लागू हुँदैन? कि रास्वपा संविधानभन्दा माथि छ?” भन्दै प्रश्न गरिन्।
उनले बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नहुने भन्दै सरकारकै नीतिमाथि पनि प्रश्न उठाइन्।
“विद्यार्थीले राजनीति गर्न हुँदैन भन्दै स्ववियुसहित विद्यार्थी संगठन खारेज गर्ने तयारी गर्ने सरकारले आफ्नै दलमा भने बालबालिकालाई सदस्य बनाएको छ। कलिला विद्यार्थीलाई आफ्नो पार्टीको झोला बोकाउन मिल्छ कि मिल्दैन?” उनले भनिन्।
यस विषयमा रास्वपाको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।







प्रतिक्रिया दिनुहोस्