सरकारले पाकिस्तान–बंगलादेश शैलीको लोकतन्त्र अभ्यास गर्न खोज्यो : रामकुमारी झाँक्री
काठमाडौं, १२ असार । प्रतिपक्षी दल नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले सरकारले विपक्षी नेताहरूलाई लक्षित गर्दै पाकिस्तान र बंगलादेश शैलीको लोकतन्त्र अभ्यास गर्न खोजेको आरोप लगाएकी छन्।
शुक्रबार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले विपक्षी दलका नेता, व्यवसायी तथा नागरिक समाजका व्यक्तिलाई पक्राउ गरी आवाज दबाउने प्रयास भइरहेको दाबी गरिन्।
उनले पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री र पूर्वअर्थमन्त्रीमाथि कारबाही भएको प्रसङ्ग उल्लेख गर्दै प्रतिस्पर्धी राजनीतिक शक्तिलाई कमजोर बनाउने उद्देश्यले राज्य संयन्त्र प्रयोग गरिएको आरोप लगाइन्।
झाँक्रीले कुनै एक व्यक्तिको बयानका आधारमा पक्राउ गर्नु उचित नहुने बताउँदै त्यसअघि पर्याप्त अनुसन्धान हुनुपर्ने धारणा राखिन्। अनुसन्धानमा सहयोग गर्न तयार रहेका व्यक्तिलाई पक्राउ गर्नु आवाज बन्द गर्ने प्रयासजस्तै भएको उनको भनाइ थियो।
उनले सुशासनको नारा दिएको सरकारले आफ्नै दलका नेतामाथि लागेको फौजदारी मुद्दा भने फिर्ता लिएको भन्दै सरकारको दोहोरो मापदण्डमाथि पनि प्रश्न उठाइन्।
आफ्नो दलका नेताले अदालतबाट निष्पक्ष सुनुवाइमार्फत निर्दोषिता प्रमाणित गर्नुपर्नेमा सरकारले नै मुद्दा फिर्ता लिएको भन्दै उनले यही सुशासन हो भन्ने प्रश्नसमेत गरिन्।







प्रतिक्रिया दिनुहोस्