विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि असार १६ गते सुनुवाइ

काठमाडौं, १२ असार । नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका तर्फबाट दायर गरिएको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सर्वोच्च अदालतमा असार १६ गते सुनुवाइ हुने भएको छ।

पौडेलकी श्रीमती दोमाया पौडेलले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै असार १० गते सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

उक्त रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको इजलासले महान्यायाधिवक्ताको कार्यालयसँग असार १५ गतेभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ। साथै असार १६ गते रिटमाथि सुनुवाइ गर्ने मिति तोकिएको छ।

उपाध्यक्ष पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानका क्रममा असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको थियो। त्यसपछि असार ९ गते विशेष अदालत काठमाडौंमा उपस्थित गराइएका उनलाई अनुसन्धानका लागि सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

हाल उनीमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्