होल्डिङ सेन्टर खाली गर्ने सरकारी तयारीको राष्ट्रिय सभामा विरोध
काठमाडौं, १२ असार । सुकुम्बासी राखिएको होल्डिङ सेन्टर खाली गर्ने सरकारको तयारीप्रति राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले आपत्ति जनाएका छन्। स्थायी व्यवस्थापन नगरी सुकुम्बासीलाई हटाउन खोजिएको भन्दै उनीहरूले सरकारलाई निर्णय पुनर्विचार गर्न आग्रह गरेका हुन्।
नेपाली कम्युनिस्ट पार्टीकी सांसद रेनु चन्दले सुकुम्बासीको व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएर मत माग्नेहरू नै अहिले उनीहरूलाई विस्थापित गर्न लागिपरेको आरोप लगाइन्। सरकारले सुकुम्बासीमाथि अमानवीय व्यवहार गरेको र मानवअधिकारको उल्लङ्घन गरेको उनको भनाइ थियो।
नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले २५ हजार रुपैयाँ उपलब्ध गराएर होल्डिङ सेन्टर खाली गराउने निर्णय न्यायोचित हुन नसक्ने बताइन्। स्थायी बसोबासको व्यवस्था नगरी सुकुम्बासीलाई बाहिर निकाल्नु गैरजिम्मेवार कदम हुने उनको धारणा थियो।
नेपाली कम्युनिस्ट पार्टीकै सांसद विष्णुबहादुर विश्वकर्माले स्थायी व्यवस्थापन नभएसम्म होल्डिङ सेन्टरबाट सुकुम्बासीलाई नहटाउन सरकारसँग माग गरे। उनले नगद रकम दिएर विस्थापित गर्नु संविधान र मानवअधिकारविपरीत हुने बताए।
सांसद श्रीकृष्णप्रसाद अधिकारीले पूर्वतयारीबिनै सुकुम्बासी बस्ती हटाएर गल्ती गरेको सरकारले पुनः अर्को गम्भीर गल्ती गर्न लागेको टिप्पणी गरे। वर्षायाममा बालबालिका, ज्येष्ठ नागरिक, बिरामी तथा अशक्तलाई व्यवस्थापनबिनै सडकमा पुर्याउने काम तत्काल रोक्न उनले सरकारसँग आग्रह गरे।
सांसद सावित्री मल्लले होल्डिङ सेन्टरमा रहेका अधिकांश महिला तथा दीर्घरोगीले आधारभूत स्वास्थ्य सेवा र औषधिसमेत नपाएको उल्लेख गर्दै उनीहरूको सुरक्षित र सम्मानजनक व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइन्।







प्रतिक्रिया दिनुहोस्