नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने तयारीमा पार्टी : प्रचण्ड
काठमाडौं, १२ असार । नेकपा संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीलाई नयाँ विचार, राजनीति, संगठन र कार्यशैलीका साथ पुनर्गठन गर्दै नयाँ पुस्तालाई नेतृत्वमा अघि बढाउने बताएका छन्।
शुक्रबार विराटनगरमा आयोजित कोशी प्रदेश कमिटीको एकता बैठकलाई सम्बोधन गर्दै उनले युवालाई नेतृत्व सम्हाल्न तयार हुन आग्रह गरेका हुन्।
उनले पार्टीको आगामी यात्रामा नयाँ रणनीतिसहित अघि बढ्ने बताउँदै नेतृत्व हस्तान्तरणको प्रक्रिया अघि बढ्ने स्पष्ट पारे। योग्य र सक्षम नयाँ पुस्ताले नेतृत्वको जिम्मेवारी लिनुपर्ने समय आएको उनको भनाइ थियो।
प्रचण्डले देशभर अझै पनि पार्टी, परिवर्तन र राष्ट्रिय स्वाधीनताका लागि प्रतिबद्ध ठूलो सङ्ख्यामा इमानदार कार्यकर्ता रहेको उल्लेख गर्दै उनीहरूलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरे।
पार्टी नेतृत्वले नयाँ पुस्तालाई अवसर नदिने भन्ने धारणा नियोजित रूपमा फैलाइएको भ्रम मात्र भएको उनको दाबी थियो। आफूहरू देश र जनताको हितका लागि अन्तिम समयसम्म प्रतिबद्ध रहने उल्लेख गर्दै उनले त्यस्ता भ्रममा नपर्न कार्यकर्तालाई आग्रह गरे।







प्रतिक्रिया दिनुहोस्