प्रचण्डको एमालेसँग सहकार्य पुनः अगाडि बढ्ने संकेत, रास्वपामाथि कडा आलोचना
काठमाडौं, १२ असार । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँगको सहकार्य पुनः अघि बढ्ने बताएका छन्।
विराटनगरमा शुक्रबार आयोजित कोशी प्रदेश कमिटीको एकता बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै उनले संसद् र सडक दुवै मोर्चामा एमालेसँग मिलेर अघि बढ्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।
उनका अनुसार अहिलेको राजनीतिक परिस्थितिमा बलियो संसदीय उपस्थिति र सडक आन्दोलनलाई सशक्त बनाउन एमालेसँग सहकार्य अनिवार्य जस्तै बनेको छ। तत्काल पार्टी एकताको सम्भावना नरहे पनि सहकार्यको वातावरण बनेको उनले बताए।
कार्यक्रममा उनले आफ्नो राजनीतिक यात्रामा ‘क्रमभङ्ग’ गर्ने शैली दोहोरिँदै आएको उल्लेख गर्दै आगामी महाधिवेशनबाट फेरि नयाँ राजनीतिक मोड आउने संकेत गरेका थिए।
दाहालले जतिसुकै मतभेद भए पनि कम्युनिष्ट पार्टी र संगठनलाई बलियो बनाउनुको विकल्प नरहेको बताए।
सम्बोधनका क्रममा उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कडा आलोचना पनि गरेका थिए। सरकारमा सहभागी भएको सय दिन नपुग्दै रास्वपाको वास्तविक चरित्र देखिएको उनको टिप्पणी थियो।
उनले रास्वपामाथि गरिब, सुकुम्बासी, जनजाति र उत्पीडित समुदायविरुद्ध काम गरेको आरोप लगाउँदै वर्तमान सरकारलाई नवउदारवादी र कठोर शैलीमा अगाडि बढेको दाबी गरे।
साथै, उनले कम्युनिष्ट शक्तिहरूले एकजुट भएर निरङ्कुशता र फाँसीवादविरुद्ध लड्नुपर्ने आवश्यकता औँल्याउँदै कार्यकर्तालाई सचेत र सक्रिय हुन आग्रह गरेका छन्।







प्रतिक्रिया दिनुहोस्