महामन्त्रीको दौडबाट पछि नहट्ने मनिष झाको घोषणा

काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार मनिष झाले आफ्नो उम्मेदवारी अन्तिमसम्म कायम रहने बताएका छन्।

महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आफूले सबैभन्दा पहिले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको उल्लेख गर्दै कुनै पनि दबाब वा आग्रहका आधारमा उम्मेदवारी फिर्ता नलिने स्पष्ट पारे।

उनले उम्मेदवारी दिएर बीचमै फिर्ता लिने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै यस्तो राजनीति उचित नभएको बताए।

‘महामन्त्रीमा उठ्ने घोषणा सबैभन्दा पहिले मैले गरेको हुँ। त्यसैले मेरो उम्मेदवारी अन्तिमसम्म कायम रहन्छ,’ उनले भने, ‘हिजो उम्मेदवारी दिने र आज फिर्ता लिने राजनीति गर्नु हुँदैन।’

उनले परिणाम जस्तोसुकै आए पनि सशक्त रूपमा प्रतिस्पर्धा गर्ने प्रतिबद्धता व्यक्त गरे। कसैको फोन वा आग्रहका आधारमा निर्णय परिवर्तन गर्ने राजनीति आफूले नगर्ने उनको भनाइ थियो।

महामन्त्री पदमा सुरुआतमा १० जनाको उम्मेदवारी परेको थियो। तीमध्ये कबिन्द्र बुर्लाकोटी, राजु पाण्डे, गणेश पराजुली, जगदीश खरेल, रञ्जु दर्शना र प्रमोद न्यौपानेले उम्मेदवारी फिर्ता लिइसकेका छन्।

अब महामन्त्री पदका लागि मनिष झा, विपिनकुमार आचार्य, सागर ढकाल र गणेश कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्