रास्वपामा आज पदाधिकारी निर्वाचन, महिला उपसभापतिमा सोविता–तोषिमा प्रतिस्पर्धामा

काठमाडौं, १२ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत आज पदाधिकारी चयनका लागि मतदान हुँदैछ।

निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार महिला उपसभापति पदमा सोविता गौतम र तोसिमा कार्कीबीच प्रतिस्पर्धा हुने भएको छ।

महामन्त्री पदका लागि प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, रञ्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्य उम्मेदवार छन्। यसअघि उम्मेदवारी दिएका जगदीश खरेलले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्।

सहमहामन्त्री पदमा रमेश प्रसाई, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, विजय जैरु, हरि ढकाल, हिमेश पन्त र राजीव खत्री प्रतिस्पर्धामा छन्।

महिला सहमहामन्त्री पदका लागि जुली यादव, जमुनाकुमारी शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माले उम्मेदवारी दिएका छन्।

यसअघि पुरुष खुलातर्फ उपसभापति पदमा स्वर्णीम वाग्ले सर्वसम्मत चयन भएका छन्। पार्टी सभापति पदमा पनि रवि लामिछाने सर्वसम्मत निर्वाचित भएका छन्।

महाधिवेशनअन्तर्गत आज महिला उपसभापति, महामन्त्री, सहमहामन्त्री, महिला सहमहामन्त्रीसहित पाँच पदाधिकारीका लागि निर्वाचन हुँदैछ।

छ दिनदेखि सञ्चालन भइरहेको महाधिवेशनमा सहभागी अधिकांश प्रतिनिधि मतदानअघि नै घर फर्किएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्