शासकीय स्वरूपबारे रास्वपाको प्रस्तावमा दलहरूसँग प्रारम्भिक छलफल भएको कानुन मन्त्री गौतमको भनाइ

काठमाडौं, ११ असार । कानुन मन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सोविता गौतमले शासकीय स्वरूपसम्बन्धी पार्टीको प्रस्तावबारे अन्य राजनीतिक दलहरूसँग प्रारम्भिक छलफल भएको बताएकी छन्।

चितवनमा जारी रास्वपा महाधिवेशन स्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले शासकीय स्वरूपसम्बन्धी प्रस्ताव संविधान संशोधनसँग समेत जोडिएकाले व्यापक छलफल आवश्यक रहेको उल्लेख गरिन्। उनका अनुसार प्रस्तावबारे प्रारम्भिक चरणमै दलहरूसँग संवाद सुरु भइसकेको छ।

रास्वपाले प्रदेशसभा खारेजी र प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था सहितको नयाँ शासकीय संरचनाको प्रस्ताव अघि सारेको छ। गौतमले उक्त प्रस्तावमाथि विभिन्न तहमा छलफल हुँदै गएको र सहमति कहाँसम्म पुग्छ भन्ने विषय भविष्यमा निर्भर रहने बताइन्।

त्यस्तै, तीन दिनका लागि तय गरिएको पार्टीको महाधिवेशन समय लम्बिएको भन्दै पदाधिकारी चयनको निर्वाचनपछि आजै सम्पन्न गर्ने तयारी रहेको उनले जानकारी दिइन्।

गौतमले रास्वपाको पहिलो महाधिवेशन भएकाले यसलाई सिकाइको प्रक्रिया रूपमा लिइएको उल्लेख गर्दै आगामी अभ्यासमा सुधार गर्दै जाने पार्टीको योजना रहेको पनि बताइन्।

प्रतिक्रिया दिनुहोस्