विष्णु पौडेलविरुद्ध बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी
काठमाडौं, ११ असार । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले विपक्षीहरूको नाममा कारण देखाऊ आदेश जारी गरेको छ।
न्यायाधीश श्रीकान्त पौडेलको इजलासले बिहीबार सुनुवाइ गर्दै सम्बन्धित निकायहरूलाई पक्राउ तथा थुनामा राख्नुको कारण स्पष्ट गर्न आदेश दिएको हो।
बुधबार पौडेलकी श्रीमती दोमायाले आफ्ना श्रीमानलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्। रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण विभाग र जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई विपक्षी बनाइएको छ।
अब ती निकायहरूले पौडेललाई किन, के कारणले थुनामा राखिएको हो भन्ने विषयमा लिखित जवाफ दिनुपर्नेछ।
यसअघि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा दिपक भट्टको सेयर कारोबारसँग जोडिएको आरोपमा विष्णु पौडेललाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो। उनलाई असार ८ गते पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो।
विशेष अदालतले भने उनलाई सात दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।







प्रतिक्रिया दिनुहोस्