रास्वपा महाधिवेशनको मतदान प्रक्रियाप्रति असन्तुष्टि
काठमाडौं, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत जारी मतदान प्रक्रियाप्रति उम्मेदवार तथा प्रतिनिधिहरूले असन्तुष्टि जनाएका छन्। मतदानका क्रममा उम्मेदवारहरूको नाम व्यवस्थित रूपमा नराखिएको, उम्मेदवार पहिचान गर्न कठिन भएको तथा मतदान प्रणाली अव्यवहारिक रहेको भन्दै व्यापक गुनासो उठेको हो।
केन्द्रीय सदस्य पदका एक उम्मेदवारले मतदान यन्त्रमा उम्मेदवारहरूको नाम न वर्णानुक्रमअनुसार राखिएको, न उम्मेदवारी दर्ताको क्रमअनुसार नै मिलाइएको बताएका छन्। उनका अनुसार भूगोलतर्फबाट चयन हुने सदस्य र अन्य समूहका उम्मेदवारलाई स्पष्ट रूपमा छुट्याइएको छैन, जसले मतदातालाई उम्मेदवार पहिचान गर्न कठिन बनाएको छ।
केन्द्रीय सदस्यका अर्का उम्मेदवार उत्तमप्रसाद पौडेलले उम्मेदवारको नामावली प्रकाशन गर्ने तरिकामाथि प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत उनले नामावली न नेपाली वर्णक्रमअनुसार रहेको, न अंग्रेजी अक्षरक्रमअनुसार मिलाइएको भन्दै नेतृत्वसँग स्पष्टिकरण माग गरेका छन्।
यसैबीच, प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले महाधिवेशनमा देखिएको अव्यवस्था र लापरवाहीप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टी नेतृत्वको आलोचना गरेका छन्। उनले पार्टीका जिम्मेवार पदाधिकारीहरूको कार्यशैलीका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पार्टीको छवि प्रभावित भएको टिप्पणी गरे।
रेग्मीले यस्तो बेथिति कायम रहे देश सञ्चालनको दाबी गर्न नसकिने उल्लेख गर्दै पार्टीभित्र सुधार आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।
प्रतिनिधिसभा सदस्य आशिका तामाङले पनि मतदान प्रणालीप्रति असन्तुष्टि जनाएकी छन्। उनले आफूले चाहेका उम्मेदवारलाई मात्र मतदान गर्ने अवसर नभएको बताउँदै प्रणालीले अनिवार्य रूपमा सबै कोटामा मत दिनुपर्ने व्यवस्था गरेको गुनासो गरिन्।
उनका अनुसार मतदान यन्त्रमा उम्मेदवार खोज्नसमेत कठिन भएको र नचिनेका व्यक्तिलाई समेत मत दिन बाध्य हुनुपरेको अवस्था रहेको छ।
अछामबाट सहभागी प्रतिनिधि एकेन्द्रप्रसाद देवकोटाले पनि सबै उम्मेदवारलाई नचिन्ने भएकाले चिनेजति उम्मेदवारलाई मत दिएर बाँकीमा अनुमानका आधारमा मतदान गर्नुपरेको बताए।
यसैबीच, मतदानका क्रममा विभिन्न उम्मेदवारहरूको नाम समेटिएका सूचीहरू सामाजिक सञ्जाल तथा सन्देश आदानप्रदान माध्यममार्फत प्रतिनिधिहरूलाई पठाइन थालेपछि पनि असन्तुष्टि बढेको छ। प्रतिनिधिहरूले नेतृत्वले गुटबन्दी नभएको दाबी गरे पनि फरक–फरक सूची प्रसारित भइरहेकाले त्यसले थप शंका उत्पन्न गरेको बताएका छन्।
महाधिवेशनस्थलमा मतदान प्रक्रियाको पारदर्शिता, उम्मेदवार व्यवस्थापन र निर्वाचन प्रणालीबारे उठेका प्रश्नले पार्टीभित्र बहसलाई थप तीव्र बनाएको छ।







प्रतिक्रिया दिनुहोस्