प्रदेशसभा खारेज गर्ने निर्णय भए रास्वपाले ठूलो भूल गर्ने : बाबुराम भट्टराई

काठमाडौं, ११ असार । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेशसभा खारेज गर्ने तथा संघीय संरचना भत्काउने निर्णय गरेको भए त्यो ठूलो भूल हुने बताएका छन्।

चितवनमा जारी रास्वपाको पहिलो महाधिवेशनमा उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले प्रदेशसभा खारेज गर्ने र स्थानीय तहको संख्या एकतिहाइले घटाउने प्रस्ताव अघि सारेपछि त्यसबारे राजनीतिक बहस तीव्र बनेको छ।

यस विषयमा बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै भट्टराईले संविधान संशोधनका विषयमा सरकारले कार्यदल गठन गरी बहसको प्रक्रिया अघि बढाइरहेका बेला कुनै एक दलले आफ्नो धारणा अरूमाथि थोपर्ने प्रयास गरे विश्वासको संकट उत्पन्न हुन सक्ने बताएका छन्।

उनले दलहरू, विभिन्न जातीय समुदाय र आम नागरिकबीच अविश्वास बढेमा त्यसले देशलाई नकारात्मक दिशातर्फ धकेल्न सक्ने चेतावनी दिएका छन्।

भट्टराईले लामो संघर्ष र बलिदानपछि संविधानसभाबाट व्यापक सहमतिका आधारमा स्थापित संघीय व्यवस्थालाई कमजोर पार्ने वा भत्काउने प्रयासले गम्भीर जातीय तथा क्षेत्रीय द्वन्द्व र अशान्ति निम्त्याउन सक्ने बताएका छन्।

उनले संविधान संशोधनका विषयमा व्यापक राष्ट्रिय सहमति नबन्दासम्म सुशासन र विकासमा केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्