विष्णु पौडेलको पक्राउविरुद्ध पत्नी दोमाया सर्वोच्चमा, थुनामुक्त गर्न माग
काठमाडौं, १० असार । पूर्व उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल को पक्राउ गैरकानुनी रहेको दाबी गर्दै उनकी पत्नी दोमाया पौडेल सर्वोच्च अदालत पुगेकी छन्।
दोमाया पौडेलले बन्दीप्रत्यक्षीकरणको रिट दायर गर्दै विष्णु पौडेललाई गैरकानुनी रूपमा पक्राउ गरी थुनामा राखिएको उल्लेख गर्दै तत्काल थुनामुक्त गर्न आदेश जारी गर्न माग गरेकी हुन्।
रिटमा विशेष अदालत, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग तथा सुर्खेत जिल्ला प्रहरी कार्यालय लाई विपक्षी बनाइएको छ।
सर्वोच्च अदालतमा दायर उक्त निवेदनमाथि बिहीबार प्रारम्भिक सुनुवाइ हुने तय भएको छ।
यसअघि विशेष अदालत ले मंगलबार विष्णु पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लाई अनुमति दिएको थियो।
सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा पौडेललाई सोमबार सुर्खेत बाट पक्राउ गरिएको थियो। पक्राउपछि उनलाई सोही राति स्थलमार्गबाट काठमाडौं ल्याइएर मंगलबार अदालतमा उपस्थित गराइएको थियो।
पौडेलविरुद्ध भइरहेको अनुसन्धान र पक्राउ प्रक्रियाको वैधानिकताबारे अब सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ।







प्रतिक्रिया दिनुहोस्