महाधिवेशन नसकिँदै प्रधानमन्त्री बालेन शाह काठमाडौं फर्किए
काठमाडौं, १० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन चलिरहेकै बेला प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन शाह काठमाडौं फर्किएका छन्।
७ असारमा श्रीमती र छोरीसहित चितवन पुगेका शाह आज बिहान बुद्ध एयरमार्फत काठमाडौं फर्किएको स्रोतले जनाएको छ। उनका सचिवालयका केही सदस्यहरू पनि उनीसँगै फर्किएका छन्।
उनी ७ असारमा महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्न चितवन पुगेका थिए। त्यसपछि ८ असारमा चितवन राष्ट्रिय निकुञ्ज तथा सौराहा क्षेत्रको भ्रमण गरेका शाह ९ असार साँझ मात्रै महाधिवेशनको बन्दसत्रमा सहभागी भएका थिए।
महाधिवेशन स्थलमा करिब डेढ घण्टा मात्रै उपस्थित रहेका उनले पार्टी सभापतिमा रवि लामिछानेको प्रस्तावकको रूपमा समर्थन जनाएका थिए।
प्रधानमन्त्री शाह महाधिवेशन अवधिभर चितवनको कालिका नगरपालिका–९ शक्तिखोरस्थित लटौली सेन्चुरी रिसोर्टमा बसेका थिए। सोही रिसोर्टमा खिचिएको तस्बिर फेसबुकमा सार्वजनिक गर्दै उनले “भिजिट चितवन, न्यानो ठाउँ” लेखेका छन्।









प्रतिक्रिया दिनुहोस्