मानव अधिकार संरक्षण सरकारको मुख्य जिम्मेवारी : अध्यक्ष तपबहादुर मगर

काठमाडौं, १० असार । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको संरक्षण र प्रवर्द्धन गर्ने मुख्य जिम्मेवारी सरकारको भएको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित “व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय संवाद” कार्यक्रममा बोल्दै अध्यक्ष मगरले व्यवसाय सञ्चालनका क्रममा मानव अधिकार उल्लंघन हुन नदिन सरकार र निजी क्षेत्र दुवै जिम्मेवार हुनुपर्नेमा जोड दिए।

उनले सरकारले मानव अधिकारको संरक्षणका लागि आवश्यक कानुनी तथा संस्थागत व्यवस्था गर्नुपर्ने र कुनै पनि व्यवसायिक गतिविधिमा मानव अधिकार हनन भए त्यसको कडा निगरानी राख्नुपर्ने बताए।

अध्यक्ष मगरले व्यवसायीहरूलाई पनि आफ्नो कारोबार सञ्चालन गर्दा मानव अधिकारको सम्मान गर्न आग्रह गरे।

“मानव अधिकारको संरक्षण, प्रवर्द्धन गर्ने काम सरकारको हो। सरकारले यसको व्यवस्था गर्नुपर्छ। व्यवसाय सञ्चालन गर्दा कुनै पनि प्रकारले मानव अधिकार हनन हुन नदिन सरकारले निगरानी राख्नुपर्छ,” उनले भने, “व्यवसायीहरूले पनि आफ्नो व्यवसाय सञ्चालन गर्दा मानव अधिकारको हनन हुन नदिई त्यसको सम्मान गर्दै अघि बढ्नुपर्छ।”

उनका अनुसार यदि मानव अधिकारको सम्मान नगरिएको अवस्थामा आयोगले त्यसबारे अनुगमन गर्ने र आवश्यक परे सरकारलाई कारबाहीका लागि निर्देशन दिने गर्छ।

कार्यक्रममा अध्यक्ष मगरले उपभोक्ताको अधिकार समेत मानव अधिकारको महत्वपूर्ण हिस्सा भएकाले व्यवसाय सञ्चालन गर्दा उपभोक्ताको अधिकार हनन हुन नदिन विशेष ध्यान दिनुपर्नेमा पनि जोड दिए।

प्रतिक्रिया दिनुहोस्