रास्वपाको सदस्य संख्या ५ लाख २३ हजार नाघ्यो, महाधिवेशनमा सांगठनिक प्रतिवेदन प्रस्तुत

काठमाडौं, ९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सदस्य संख्या ५ लाख २३ हजार ४६५ पुगेको छ। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमा उक्त विवरण सार्वजनिक गरिएको हो।

प्रतिवेदनअनुसार रास्वपामा पुरुष सदस्यको संख्या ३ लाख ९६ हजार ७८९ रहेको छ भने महिला सदस्य ८९ हजार ८९६ छन्। अन्य लैंगिक पहिचान भएका सदस्यको संख्या ५८८ रहेको छ। त्यस्तै, लैंगिक विवरण नखुलाएका वा उल्लेख नगरेका सदस्यको संख्या ३६ हजार १९२ रहेको प्रतिवेदनमा उल्लेख छ।

प्रतिशतका आधारमा कुल सदस्यमध्ये पुरुष ७५.८ प्रतिशत, महिला १७.२ प्रतिशत, अन्य ०.१ प्रतिशत र लैंगिक विवरण नखुलाउने ६.९ प्रतिशत रहेका छन्।

रास्वपाको प्रथम महाधिवेशन अन्तर्गत विभिन्न प्रतिवेदनहरू प्रस्तुत भइसकेका छन्। अब पार्टी सभापति तथा केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया अघि बढ्नेछ।

महाधिवेशनबाट ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिनेछ। निर्वाचित हुने ९९ सदस्यमध्ये सातै प्रदेशबाट अनिवार्य रूपमा पाँच–पाँच जना प्रतिनिधित्व गर्ने व्यवस्था गरिएको छ। प्रत्येक प्रदेशबाट चयन हुने पाँच जनामध्ये कम्तीमा दुई जना महिला हुनुपर्ने प्रावधान रहेको छ। बाँकी ६४ पदका लागि खुला प्रतिस्पर्धा हुने जनाइएको छ।

केन्द्रीय सभापति र ९९ केन्द्रीय सदस्यको चयन सम्पन्न भएपछि दोस्रो चरणमा पार्टीका अन्य पदाधिकारीहरूको निर्वाचन प्रक्रिया सञ्चालन गरिनेछ।

प्रतिक्रिया दिनुहोस्