विशेष अदालतमा उपस्थित गराइए नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल

काठमाडौं, ९ असार । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा विशेष अदालतमा उपस्थित गराइएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा सोमबार सुर्खेत प्रहरीले पौडेललाई पक्राउ गरेको थियो। पक्राउपछि उनलाई काठमाडौं ल्याइएर मंगलबार विशेष अदालतमा उपस्थित गराइएको हो।

अदालतमा हाल म्याद थपसम्बन्धी प्रक्रिया अघि बढ्ने तयारी भइरहेको छ। सरकारी वकिलहरूले अनुसन्धानका लागि म्याद थपको माग गर्ने तयारी गरेका छन् भने पौडेल पक्षका कानुन व्यवसायीहरूले पक्राउ प्रक्रिया नै गैरकानुनी भएको दाबी गर्दै प्रतिवाद गर्ने तयारी गरेका छन्।

विभागसँग सम्बन्धित उच्च स्रोतका अनुसार पौडेलले गरेको सेयर कारोबार तथा उनको सम्पत्तिको स्रोतबारे उठेका शंकाका आधारमा अनुसन्धान अघि बढाइएको हो। सोही अनुसन्धानको क्रममा उनलाई नियन्त्रणमा लिइएको जनाइएको छ।

पक्राउ गर्नुअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोलीले पौडेलको निवासमा समेत छापा मारेको थियो। विभागले अनुसन्धानलाई थप अघि बढाउन अदालतबाट म्याद थपको अनुमति माग्ने तयारी गरेको छ।

घटनाबारे विभाग तथा पौडेल पक्षबाट औपचारिक विस्तृत प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन।

प्रतिक्रिया दिनुहोस्