क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टी सदस्यका रूपमा नचिन्ने गगन थापाको चेतावनी

काठमाडौं, ९ असार । नेपाली कांग्रेसका सभापति गगन थापा ले क्रियाशील सदस्यता अद्यावधिक नगर्ने व्यक्तिलाई पार्टीले सदस्यका रूपमा नचिन्ने बताएका छन्।

झापामा सोमबार आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले कांग्रेसले क्रियाशील सदस्यहरूको विवरण डिजिटल प्रणालीमा रूपान्तरण गरिसकेको उल्लेख गर्दै अब सदस्यता अद्यावधिक नगर्नेहरूको नाम पार्टीको आधिकारिक अभिलेखमा नआउने बताए।

“अद्यावधिक नभएको साथीलाई कांग्रेसले सम्मान र माया त गर्छ, तर पार्टी सदस्यका रूपमा चिन्दैन। अब सिस्टमले नै चिन्दैन, भोट हाल्ने बेला नाम वडामा आउँदैन,” उनले भने।

उनका अनुसार निकट भविष्यमा वडा अधिवेशन सुरु हुने भएकाले सदस्यता अद्यावधिक नगरेकाहरूको नाम अधिवेशन प्रक्रियामा समावेश हुने छैन। पार्टी सुधारको अभियानलाई कमजोर बनाउने प्रस्ताव स्वीकार नगर्ने स्पष्ट पार्दै उनले विगतमा पार्टीलाई कमजोर बनाइएको दाबी गरे।

कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न छुटेका सदस्यहरूलाई निवेदनमार्फत असार २० गतेसम्मको समय दिएको छ। यसअघि पार्टीका केही नेताहरू, विशेषगरी Sher Bahadur Deuba र Shekhar Koirala पक्षका कतिपय नेताहरूले सदस्यता अद्यावधिक नगरेको चर्चा भएको थियो।

सभापति थापाले पार्टीलाई जनविश्वास जित्ने संस्थाका रूपमा पुनः स्थापित गर्नुपर्ने आवश्यकता औंल्याउँदै कार्यकर्ताहरूलाई घरघरमा पुगेर संगठन सुदृढ बनाउन आग्रह गरे।

त्यसैगरी, उनले १५औँ महाधिवेशन निष्पक्ष, पारदर्शी र सबै पक्षलाई समेटेर सम्पन्न गर्न आफूहरू तयार रहेको बताए। तर १४औँ महाधिवेशन र विशेष महाधिवेशनबाट बनेका कार्यसमितिलाई एकीकृत गर्ने प्रस्ताव विधानविपरीत हुने भन्दै त्यसलाई स्वीकार गर्न नसकिने स्पष्ट पारे।

“सबैलाई मिसाएर कार्यसमिति बनाउने कुरा विधानअनुसार सम्भव छैन। मैले त्यस्तो गरेँ भने विधान मिचेको ठहरिन्छ,” उनले भने।

थापाले पार्टीको प्रतिष्ठा र संगठनात्मक अनुशासनलाई केन्द्रमा राखेर कांग्रेसलाई एकताबद्ध रूपमा अघि बढाइने पनि बताएका छन्।

प्रतिक्रिया दिनुहोस्