रास्वपा महामन्त्री पदमा मनिष झाको उम्मेदवारी घोषणा
काठमााडौं, ८ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
चितवनमा जारी पार्टीको पहिलो महाधिवेशनअन्तर्गत बन्दसत्रस्थल बाहिर सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आफू महामन्त्री पदका लागि मानसिक रूपमा तयार भइसकेको बताएका हुन्।
उनले परिणाम जे आए पनि निर्वाचनमा प्रतिस्पर्धा गर्ने अडान व्यक्त गरे।
“महामन्त्री पदका लागि म मानसिक रूपमा तयार भइसकेको छु। परिणाम जे आए पनि अब म प्रतिस्पर्धाका लागि तयार छु,” झाले भने।
महामन्त्री पदमा उम्मेदवारी दिने विषयमा विभिन्न सञ्चारमाध्यममा आएका चर्चालाई उनले स्वीकार गरेका छन्। उम्मेदवारीबारे भइरहेको चर्चा स्वाभाविक रहेको उनको भनाइ छ।
झाले आफूलाई देशको प्रधानमन्त्री वा पार्टीको सभापति बन्ने तत्काल अपेक्षा नभए पनि हालसम्मको नेतृत्व यात्राभन्दा अगाडि बढ्ने चाहना भने स्वाभाविक रहेको बताए।
“प्रधानमन्त्री वा पार्टी सभापति नै बन्नुपर्छ भन्ने मेरो अपेक्षा छैन। तर अहिलेसम्म जुन तहको जिम्मेवारी निर्वाह गर्दै आएको छु, त्यसभन्दा माथिल्लो भूमिकामा पुग्ने आकांक्षा हुनु स्वाभाविक हो,” उनले भने।
राष्ट्रिय स्वतन्त्र पार्टी को पहिलो महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया सुरु हुने तयारी भइरहेका बेला झाको उम्मेदवारी घोषणालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।









प्रतिक्रिया दिनुहोस्