अर्थशास्त्री सुदनकुमार ओली: भारत–चीन सम्बन्धलाई रणनीतिक साझेदारीमार्फत आर्थिक लाभमा बदल्नुपर्ने
काठमााडौं, ८ असार । अर्थशास्त्री सुदनकुमार ओलीले नेपालले भारत र चीनसँगको सम्बन्धलाई रणनीतिक साझेदारीका रूपमा उपयोग गर्दै आर्थिक समृद्धिमा रूपान्तरण गर्नुपर्ने बताएका छन्।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा उनले हालै परराष्ट्रमन्त्री शिशिर खनालको भारत र चीन भ्रमणले दुवै छिमेकी राष्ट्रसँगको सम्बन्धलाई नयाँ अवसरतर्फ अघि बढाएको उल्लेख गर्दै त्यसलाई व्यवहारिक आर्थिक लाभमा बदल्नुपर्नेमा जोड दिए।
ओलीका अनुसार नेपालका लागि भारत प्रमुख आर्थिक साझेदार हो भने चीन पनि अत्यन्त महत्वपूर्ण व्यापारिक र पूर्वाधार साझेदार राष्ट्र हो। उनले नेपालको कुल आर्थिक हितमध्ये करिब ६५ प्रतिशत भारत र करिब २० प्रतिशत चीनसँग जोडिएको बताए।
उनले भारतसँग विगतका तिक्त अनुभवहरूलाई पन्छाएर सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता औंल्याए। साथै चीनसँग देखिएका केही असमझदारी र मतभिन्नता समाधान गर्दै कनेक्टिभिटी, पूर्वाधार र प्रविधि सहकार्य विस्तार गर्नुपर्ने धारणा राखे।
नेपालको भू–रणनीतिक अवस्थालाई उपयोग गर्दै चीन र भारतबीच सन्तुलित सम्बन्ध कायम राखेर अधिकतम आर्थिक लाभ लिन सकिने ओलीको तर्क छ। उनका अनुसार नेपालको प्रमुख चुनौती उच्च ढुवानी लागत भएकाले पूर्वाधार र कनेक्टिभिटी सुधार अपरिहार्य छ।
उनले विश्व बजारको औसतभन्दा नेपालको लजिस्टिक लागत करिब ३५ प्रतिशत बढी रहेको उल्लेख गर्दै सडक, रेल, हवाई र डिजिटल पूर्वाधार विस्तारमार्फत उत्पादन लागत घटाउन सकिने बताए।
ओलीले चीनसँगको सहकार्यलाई केवल भौतिक पूर्वाधारमा सीमित नराखी प्रविधि हस्तान्तरण, डिजिटल अर्थतन्त्र, हरित ऊर्जा, मानव पूँजी विकास र सुशासन प्रणालीमा विस्तार गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका सडक तथा विमानस्थल परियोजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सके नेपालको व्यापारिक क्षमता विस्तार गर्न सकिन्छ।
भारत र चीन दुवैलाई सन्तुलनमा राख्दै राष्ट्रिय प्राथमिकताअनुसार परराष्ट्र, सुरक्षा र आर्थिक नीति स्पष्ट बनाउनुपर्ने उनले बताए। “एक देशलाई अर्कोविरुद्ध प्रयोग गर्नु होइन, नेपालको हित केन्द्रमा राखेर नीति बनाउनुपर्छ,” उनले भने।
ओलीले आगामी दिनमा नीतिगत स्पष्टता र राजनीतिक स्थायित्व कायम भए नेपालले छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई विकास र समृद्धिको अवसरमा रूपान्तरण गर्न सक्ने विश्वास व्यक्त गरे।









प्रतिक्रिया दिनुहोस्