अमेरिका–इरानबीच १८ घण्टा लामो वार्ता, आणविक सम्झौता र क्षेत्रीय सुरक्षामा प्रगति भएको दाबी

काठमााडौं, ८ असार ।  अमेरिका र इरानका उच्चस्तरीय प्रतिनिधिमण्डलबीच स्विट्जरल्यान्डको लेक लुसर्न क्षेत्रमा १८ घण्टाभन्दा लामो वार्ता सम्पन्न भएको छ। दुवै पक्षले इरानको आणविक कार्यक्रम, प्रतिबन्ध, क्षेत्रीय सुरक्षा तथा बाँकी रहेका विवादित विषयमा छलफल गर्दै अन्तिम सम्झौतातर्फ अघि बढ्ने रोडम्यापमा सहमति जनाएको बताइएको छ।

अमेरिकी अनलाइन समाचार माध्यम एक्सियसका अनुसार वार्तामा अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा विशेष दूत स्टिभ विटकोफ र जारेड कुश्नर सहभागी थिए। इरानको तर्फबाट सभामुख मोहम्मद बाघेर गालिबाफ र विदेशमन्त्री अब्बास अराग्चीसहितको टोली सहभागी भएको थियो।

वार्ताअघि लेबनानमा इजरायली आक्रमणपछि इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आईआरजिसी)ले स्ट्रेट अफ हर्मुज बन्द गर्ने चेतावनी दिएपछि वार्ता प्रभावित हुन सक्ने अनुमान गरिएको थियो। तर दुवै पक्षले संवादलाई निरन्तरता दिँदै छलफल सकारात्मक दिशामा अघि बढेको बताएका छन्।

छलफलका क्रममा लेबनानमा युद्धविराम कार्यान्वयन, दक्षिणी लेबनानमा इजरायली सेना र हिजबुल्लाहबीच जारी झडप तथा ‘डि–कन्फ्लिक्सन मेकानिज्म’ सम्बन्धी विषयमा पनि विचारविमर्श भएको जनाइएको छ। मध्यस्थकर्ता मुलुकका एक स्रोतका अनुसार लेबनानसम्बन्धी छलफल केही समय तनावपूर्ण बनेको थियो।

अमेरिकी कूटनीतिज्ञहरूका अनुसार वार्तामा आणविक सम्झौताका सबै पक्ष, होर्मुज जलमार्गको सुरक्षा तथा समुद्री आवागमन सुनिश्चित गर्ने विषयमा विस्तृत छलफल भएको थियो। अमेरिका पक्षले होर्मुज जलमार्ग खुला राख्नुपर्ने स्पष्ट सन्देश दिएको र त्यसमा सकारात्मक प्रगति भएको दाबी गरेको छ।

वार्तापछि जारी संयुक्त वक्तव्यमा कतार र पाकिस्तानका मध्यस्थकर्ताहरूले १८ घण्टाको संवादमा “उत्साहजनक प्रगति” भएको उल्लेख गरेका छन्। वक्तव्यअनुसार अमेरिका र इरानले वार्ताको राजनीतिक अनुगमनका लागि उच्चस्तरीय समिति गठन गर्ने तथा आणविक मुद्दा, प्रतिबन्ध र विवाद समाधानका लागि छुट्टाछुट्टै कार्यसमूह स्थापना गर्ने सहमति गरेका छन्।

यसैगरी, होर्मुज जलमार्गमा सम्भावित घटना वा गलतफहमी रोक्न प्रत्यक्ष सञ्चार संयन्त्र स्थापना गर्ने निर्णय पनि गरिएको छ। उक्त संयन्त्रले व्यापारिक जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सहयोग गर्ने बताइएको छ।

लेबनानमा सैन्य गतिविधि अन्त्यसम्बन्धी सहमति कार्यान्वयनका लागि अमेरिका, इरान, लेबनान तथा मध्यस्थकर्ता राष्ट्रहरू सम्मिलित ‘डि–कन्फ्लिक्सन सेल’ गठन गर्ने सहमति पनि भएको जनाइएको छ।

इरानी विदेशमन्त्री अब्बास अराग्चीले सामाजिक सञ्जाल एक्समार्फत पाकिस्तान र कतारका मध्यस्थकर्ताहरूको भूमिकाको प्रशंसा गर्दै लेबनान युद्ध अन्त्यतर्फ महत्वपूर्ण प्रगति भएको बताएका छन्। उनले इरानले तेल तथा पेट्रोकेमिकल निर्यातमा केही छुट र रोक्का सम्पत्तिमा पहुँच पाएको दाबी गरेका छन्, यद्यपि अमेरिकी पक्षले उक्त दाबीको पुष्टि गरेको छैन।

दुवै पक्षले आगामी साताहरूमा प्राविधिक तहका थप वार्ता सञ्चालन गर्दै सहमतिका विषयलाई अन्तिम रूप दिने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्