प्रधानमन्त्रीको भनाइ: अख्तियारसँग आवश्यक परे पाँच वर्षसम्म पनि समन्वय गर्न सकिन्छ
काठमाडौं, ७ असार । प्रधानमन्त्री बालेन्द्र शाहले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीहरूसँग आवश्यक परे लामो समयसम्म पनि सोधपुछ र सरसल्लाह गर्न सकिने बताएका छन्।
आइतबार राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै उनले पछिल्लो समय अख्तियारसँग गरिएको सोधपुछको प्रसङ्ग उल्लेख गर्दै आवश्यकता परे पाँच घण्टा मात्र होइन, पाँच वर्षसम्म पनि सहकार्य र छलफल गर्न सकिने बताएका हुन्।
उनले भने, “त्यो निहुँ खोज्दै गर्दा अख्तियारलाई पाँच घण्टा सोधपुछ गर्नुपर्छ, सरसल्लाह लिनुपर्छ भने पाँच घण्टा मात्र होइन, हामी पाँच वर्ष गर्छौं। पाँच वर्षसम्म अख्तियारलाई राखेर सरसल्लाह गरिन्छ। त्यसमा चिन्ता लिनु पर्दैन।”
प्रधानमन्त्री शाहले सरकारको सम्पत्ति दोहन भएका घटनाहरूमा विशेष ध्यान दिने पनि स्पष्ट पारे। उनले विगतमा भएका अनियमितता र सरकारी रकमको दुरुपयोग भएका विषयमा सरकार सक्रिय रहने बताए।
उनका अनुसार सरकार नियम कानुनको दायराभित्र रहेर मात्र काम गर्नेछ। सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सरकार कहिलेकाहीँ अनियन्त्रित देखिए पनि वास्तविक रूपमा सबै काम कानुनी सीमाभित्र नै हुने उनको दाबी छ।
प्रधानमन्त्री शाहले सरकार अहिले तीव्र गतिमा अघि बढिरहेको र आफ्नो लक्ष्यसम्म पुगेर मात्र रोकिने बताए।









प्रतिक्रिया दिनुहोस्