गगन थापाको टिप्पणी : रास्वपाको जनमत असाधारण, तर ‘सही व्यवस्थापन’ अनिवार्य

काठमाडौं, ७ असार । गगन थापा ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छोटो समयमै प्राप्त गरेको जनसमर्थनलाई “असाधारण” भन्दै त्यसलाई जिम्मेवार ढंगले व्यवस्थापन गर्नुपर्ने बताएका छन्।

चितवनको हेस्ट हाउस चौर मा जारी रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले नेपालको राजनीतिक इतिहासमा यस्तै प्रकारका जनमत केही पटक देखिए पनि ती धेरैजसो दीर्घकालीन रूपमा स्थिर रहन नसकेको उल्लेख गरे।

“रास्वपाले प्राप्त गरेको जनमत असाधारण छ,” उनले भने, “तर इतिहासमा यस्तै जनमत तीन–चार पटक दलहरूले पाएका छन्, तर धेरैजसो अवस्थामा त्यो जनमत दुर्घटनामा परेको छ।”

थापाले रास्वपाले पाएको जनसमर्थनलाई दीर्घकालीन राजनीतिक स्थिरतामा रूपान्तरण गर्नुपर्ने आवश्यकता रहेको बताए।

उनले रवि लामिछाने नेतृत्वको दलसँग नेपाली कांग्रेस प्रतिस्पर्धामा रहेको स्पष्ट पार्दै प्रतिस्पर्धा शत्रुतामा नभई लोकतान्त्रिक अभ्यासको हिस्सा भएको बताए।

“नेपाली कांग्रेस र रास्वपा प्रतिस्पर्धी हुन्, दुश्मन होइनन्,” उनले भने, “हामी प्रतिस्पर्धा गर्छौं, तर तपाईंहरूलाई कमजोर बनाएर होइन, आफैंलाई सुधारेर बलियो बन्न चाहन्छौं।”

थापाले आफ्नो दललाई संगठनात्मक सुधार र आन्तरिक शुद्धीकरणमार्फत बलियो बनाउने प्रतिबद्धता व्यक्त गर्दै लोकतान्त्रिक प्रतिस्पर्धालाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखे।

उनले विधि, प्रक्रिया र लोकतान्त्रिक मूल्यका विषयमा प्रतिपक्षले प्रश्न उठाउनु स्वाभाविक हुने भन्दै संसदीय अभ्यासलाई सन्तुलित रूपमा अघि बढाउनुपर्ने बताए।

“प्रतिनिधि सभामा अवरोध भएको दिन राष्ट्रिय सभामा ताली बजाएका थियौं,” थापाले भने, संसदीय प्रक्रियाभित्रको भिन्न दृष्टिकोणलाई लोकतन्त्रको सौन्दर्यका रूपमा बुझ्नुपर्ने संकेत गर्दै।

प्रतिक्रिया दिनुहोस्