ज्ञवालीको चेतावनी : जनमतको सही उपयोग नभए ‘भयावह जोखिम’ निम्तिन सक्छ

काठमाडौं, ७ असार । प्रदीप ज्ञवाली ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त असाधारण जनादेशको सही उपयोग गर्न आग्रह गर्दै त्यसो हुन नसके मुलुकले गम्भीर जोखिम सामना गर्नुपर्ने बताएका छन्।

चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै ज्ञवालीले रास्वपाले पाएको जनसमर्थनलाई वैचारिक रूपमा स्पष्ट, संगठित र जिम्मेवार राजनीतिक शक्तिमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए।

“तपाईंहरूको काँधमा असीम जनमत छ। त्यो सही ढंगले सदुपयोग भएन भने त्यसले निम्त्याउने जोखिम भयावह हुन सक्छ,” उनले भने। “रास्वपा असाधारण जनादेशसहित सत्तामा पुगेको छ। यो जनादेश कसरी सुदृढ लोकतन्त्र निर्माणमा रूपान्तरण हुन्छ भन्ने प्रतीक्षामा देश छ।”

ज्ञवालीले रास्वपा सभापति रवि लामिछाने र परराष्ट्र मन्त्री शिशिर खनाल ले हालै गरेका छिमेकी मुलुक भ्रमणको प्रसंग उल्लेख गर्दै नेपालको भूराजनीतिक संवेदनशीलतालाई ध्यानमा राख्न आग्रह गरे।

“एउटा गलत निर्णयले नेपालजस्तो देशलाई भूराजनीतिक दबाबको ठूलो भार बोक्न बाध्य बनाउन सक्छ,” उनले भने।

सरकारको सय दिन पूरा नभएकाले आलोचनामा केन्द्रित हुन नचाहेको बताउँदै ज्ञवालीले प्रारम्भिक केही निर्णय र गतिविधिले भने प्रश्न उठाएको टिप्पणी गरे।

“ती प्रश्नहरूको जवाफ मलाई होइन, नेपाली जनतालाई दिनुपर्छ,” उनले भने। “लोकतन्त्र नियन्त्रण र सन्तुलनको व्यवस्था हो। राष्ट्रपति, संसदलगायत संस्थाहरू कमजोर बनाउने वा जनताको आलोचनालाई बेवास्ता गर्ने प्रवृत्ति बढ्यो भने जनमत लामो समय टिक्न सक्दैन।”

उनले रास्वपाको चुनावी प्रतिबद्धता र सरकारका केही प्रारम्भिक गतिविधिबीच असंगति देखिएको संकेत गर्दै लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउने दिशामा सरकार अघि बढ्नुपर्ने धारणा राखे।

सम्बोधनको अन्त्यमा ज्ञवालीले तीव्र गतिमा काम गर्ने उत्साह सकारात्मक भए पनि सन्तुलन आवश्यक रहेको उल्लेख गर्दै गाडीको ‘एक्सिलेटर’ र ‘ब्रेक’ को उदाहरण दिए।

“काम गर्ने हुटहुटी देखिएको छ, त्यो राम्रो हो,” उनले भने, “तर गाडीमा एक्सिलेटरसँगै ब्रेक पनि हुन्छ। दुवैबीच सन्तुलन भएन भने दुर्घटना हुन सक्छ।”

प्रतिक्रिया दिनुहोस्