रास्वपा महाधिवेशनमा पुराना दलको साझा सन्देश : ‘परिवर्तन र सुशासनको यात्रामा हामी पनि साथमै छौं’
काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन समारोहमा सहभागी विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले रास्वपासँग वैचारिक तथा एजेण्डागत निकटता रहेको सन्देश दिएका छन्। सुशासन, आर्थिक विकास, राजनीतिक सुधार र जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्ने विषयमा आफूहरू र रास्वपाबीच साझा उद्देश्य रहेको उनीहरूको भनाइ थियो।
वर्षमान पुन ले रास्वपा र आफ्नो पार्टीबीच धेरै समानता रहेको उल्लेख गर्दै दुवै शक्ति परम्परागत राजनीतिक संरचनालाई चुनौती दिँदै उदाएको बताए।
“हामी दुवै शक्ति निरन्तरतालाई क्रमभंग गरेर आफ्नो राजनीतिक बाटो तय गरेका हौं,” उनले भने। परिवर्तन, समाज रूपान्तरण र सुशासनका मुद्दामा दुई दलबीच निकटता रहेको उनको धारणा थियो।
त्यस्तै राजेन्द्र लिङ्देन ले रास्वपा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फरक राजनीतिक धारमा भए पनि मुलुकमा स्थापित राजनीतिक शक्ति र सीमित समूहको प्रभावविरुद्ध समान आवाज उठाउँदै आएको बताए। जनताले परिवर्तनको अपेक्षासहित रास्वपालाई विश्वास गरेको उल्लेख गर्दै उनले त्यस विश्वासको सम्मान गर्न आग्रह गरे।
सिके राउत ले रास्वपा सभापति रवि लामिछाने सँग आफ्नो राजनीतिक तथा वैचारिक निकटताको चर्चा गरे। लामिछानेमाथि सहकारी ठगीको आरोप लागेका बेला आफूले सार्वजनिक रूपमा समर्थन जनाएको स्मरण गर्दै उनले लामिछानेलाई नेपालमा परिवर्तनकारी नेतृत्वको सम्भावना बोकेको व्यक्तित्वका रूपमा चित्रण गरे।
“तपाईं विपी कोइरालापछिको नेता हुन सक्नुहुन्छ जसले यो देशलाई डोर्याउन सक्छ,” भन्दै राउतले विगतमा लामिछानेलाई दिएको सुझाव पनि स्मरण गरे।
उपेन्द्र यादव ले संविधानमा रहेका कमजोरी सुधार गर्दै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताजस्ता उपलब्धिलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राखे। रास्वपा नेतृत्वको सरकारले आवश्यक संवैधानिक सुधारका लागि पहल गरे आफ्नो समर्थन रहने संकेत पनि उनले दिए।
उद्घाटन समारोहमा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई ले रास्वपालाई नेपालको वैकल्पिक राजनीतिको अगुवा शक्ति भएको बताए। उनले आफूले एक दशकअघि सुरु गरेको वैकल्पिक राजनीतिको अभियान संस्थागत रूपमा रास्वपामार्फत अघि बढेको टिप्पणी गरे।
“मैले सुरु गरेको वैकल्पिक राजनीतिक अभियानको सबैभन्दा ठूलो उपलब्धि रास्वपा हो,” उनले भने। साथै फागुन २१ को निर्वाचनमा प्राप्त जनादेशको सम्मान गर्दै सुशासन र समृद्धिको एजेण्डामा केन्द्रित भएर दीर्घकालसम्म देशको नेतृत्व गर्न शुभकामना पनि दिए।
रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक धारका नेताहरूले व्यक्त गरेका धारणाले नयाँ राजनीतिक शक्तिप्रति स्थापित दलहरू पनि संवाद र सहकार्यको सन्देश दिन इच्छुक देखिएको विश्लेषण गरिएको छ। सुशासन, पारदर्शिता, आर्थिक विकास र राजनीतिक सुधारका साझा मुद्दामा सहकार्यको सम्भावना रहेको संकेत नेताहरूका अभिव्यक्तिबाट देखिएको छ।









प्रतिक्रिया दिनुहोस्