बाबुराम भट्टराईको भनाइ : ‘वैकल्पिक राजनीतिको अगुवा शक्ति रास्वपा हो’
काठमाडौं, ७ असार । बाबुराम भट्टराई ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई नेपालको वैकल्पिक राजनीतिको अगुवा शक्ति भएको बताएका छन्।
चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भट्टराईले रास्वपाले सुशासन र समृद्धिको एजेण्डालाई प्रभावकारी रूपमा अघि बढाउनुपर्ने धारणा राखे।
“वैकल्पिक नयाँ राजनीतिको अगुवा शक्ति रास्वपा हो, म बधाई दिन्छु,” उनले भने, “सुशासन र समृद्धिको फल सबै नेपालीले प्राप्त गर्न सकून्।”
भट्टराईले स्थापना भएको छोटो समयमै रास्वपाले उल्लेखनीय राजनीतिक उपलब्धि हासिल गरेको उल्लेख गर्दै जनताको विश्वास जित्न सफल भएको बताए।
“जनताको मन जितेर रास्वपाले चार वर्षभित्रै ठूलो उपलब्धि हासिल गरेको छ,” उनले भने।
उनले आफूले विगत एक दशकदेखि वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता र सम्भावनाबारे निरन्तर वकालत गर्दै आएको स्मरण गरे। रास्वपाको उदयलाई त्यही अभियानको सबैभन्दा महत्वपूर्ण उपलब्धिका रूपमा चित्रण गर्दै उनले आफूले कुनै स्वार्थ वा लाभका लागि यस्तो अभिव्यक्ति नदिएको स्पष्ट पारे।
“मैले १० वर्षदेखि वैकल्पिक राजनीतिको पैरवी गर्दै आएको छु। त्यस अभियानको सबैभन्दा ठूलो उपलब्धि रास्वपा हो भन्ने लाग्छ,” उनले भने।
सम्बोधनका क्रममा भट्टराईले राजनीतिक स्थायित्वको आवश्यकता औंल्याउँदै आगामी १०–१५ वर्षसम्म मुलुकमा स्थिर राजनीतिक वातावरण कायम हुनुपर्ने धारणा व्यक्त गरे।
उनले रास्वपाभित्रको एकताको महत्वसमेत औंल्याए। पार्टीभित्र नेतृत्वको तुलना वा प्रतिस्पर्धा गराउने प्रयास हुन सक्ने संकेत गर्दै उनले सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह बीचको एकता नै पार्टीको भविष्यका लागि निर्णायक हुने बताए।
“रवि ठूलो कि बालेन ठूलो भनेर खेल्न खोज्नेहरू हुन सक्छन्,” उनले भने, “तर तपाईंहरूको एकतामै रास्वपाको आगामी पाँच वर्षको भविष्य सुनिश्चित छ।”









प्रतिक्रिया दिनुहोस्