लिङ्देनको दाबी : ‘बालेनले राजा ल्याउँछ’ भन्ने अपेक्षासहित पनि जनताले भोट दिएका छन्

काठमाडौं, ७ असार ।  राजेन्द्र लिङ्देन ले गत प्रतिनिधिसभा निर्वाचनमा प्रधानमन्त्री बालेन्द्र शाह लाई राजसंस्थाको पक्षमा रहेका मतदाताले समेत समर्थन गरेको दाबी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन समारोहलाई आइतबार चितवनमा सम्बोधन गर्दै लिङ्देनले जनताको विभिन्न अपेक्षा र चाहनालाई सम्बोधन गर्ने विशेष जिम्मेवारी प्रधानमन्त्री शाह र रास्वपा सभापति रवि लामिछाने माथि रहेको बताए।

“प्रधानमन्त्रीजीलाई थाहा छ, सभापतिज्यूलाई थाहा छ, यो भोटमा नेपालमा राजा चाहिन्छ भन्नेहरूको भोट पनि छ,” उनले भने, “राप्रपालाई नभई ‘बालेनले राजा ल्याउँछ’ भन्ने विश्वासमा पनि धेरैले तपाईंहरूलाई भोट दिएका छन्। त्यसैले जनताको त्यो चाहनालाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी तपाईंहरूमाथि छ।”

लिङ्देनले विगतका राजनीतिक नेतृत्वप्रति जनतामा असन्तुष्टि रहेकाले निर्वाचनमार्फत नयाँ शक्तिलाई अवसर दिएको उल्लेख गरे। तर समस्या केवल नेतृत्वमा मात्र नभई संविधान र वर्तमान राजनीतिक व्यवस्थामा समेत रहेको दाबी गर्दै संविधान संशोधन आवश्यक रहेको बताए।

“संविधान र संवैधानिक व्यवस्थामा पनि सुधार आवश्यक छ। राष्ट्रिय सहमति र संविधान संशोधनबिना देश सही दिशामा अघि बढ्न सक्दैन,” उनले भने।

रास्वपालाई निषेधको राजनीति नगर्न सुझाव दिँदै लिङ्देनले विगतमा जस्तै प्रतिशोध र बहिष्कारको राजनीति दोहोरिए त्यसको असर देश र जनताले भोग्नुपर्ने चेतावनी दिए।

उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र रास्वपा फरक राजनीतिक धारमा रहे पनि देशमा व्याप्त भ्रष्टाचार, शक्ति केन्द्रित राजनीति र पुराना दलप्रतिको असन्तुष्टिविरुद्ध समान आवाज उठाउने दल भएको दाबी गरे।

चितवनमा आजदेखि सुरु भएको रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भई आफ्नो धारणा राखिरहेका छन्। make

प्रतिक्रिया दिनुहोस्