रास्वपा महाधिवेशनमा सिके राउतद्वारा प्रधानमन्त्री शाहको प्रशंसा

काठमाडौं, ७ असार । सिके राउत ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह को खुलेर प्रशंसा गरेका छन्।

आइतबार चितवनको गेस्ट हाउस चौर मा आयोजित महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै राउतले शाहको व्यक्तित्व, शैली र सोचको प्रशंसा गरेका हुन्।

उनले व्यंग्यात्मक शैलीमा प्रधानमन्त्री शाहको लोकप्रियता उल्लेख गर्दै विपक्षीहरूले कुनै दिन कालो लुगा लगाउनसमेत प्रतिबन्ध लगाउने कानुन माग गर्न सक्ने टिप्पणी गरे।

“देवानन्दलाई सार्वजनिक स्थलमा कालो लुगा लगाउन निषेध गरेको सुन्थ्यौं। कुनै दिन हाम्रा विपक्षीहरूले सम्माननीयज्यूलाई कालो लुगा लगाउन निषेध गर्ने ऐन ल्याउनुपर्‍यो भन्न पनि बेर छैन,” राउतले भने, “तर त्योभन्दा पनि ठूलो उहाँको माइन्डसेटको सम्मान गर्छु।”

राउतले शाहलाई “अलग लेभलका व्यक्ति” भन्दै उनको नेतृत्व र सोचको प्रशंसा गरे। उनले नेपालमा पहिलोपटक मधेसी समुदायको छोराले प्रधानमन्त्री बन्ने अवसर पाएको उल्लेख गर्दै त्यसका लागि शाहप्रति धन्यवादसमेत व्यक्त गरे।

“पौने तीन सय वर्षमा कहिल्यै नभएको कुरा भयो। एउटा मधेसीको छोरोलाई प्रधानमन्त्री बनाएर सपना पूरा गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु,” उनले भने।

प्रधानमन्त्री शाहलाई “स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट र स्टाइलिस” व्यक्तित्वका रूपमा चित्रण गर्दै राउतले उनी सबैको रोजाइका लोकप्रिय नेता बनेको धारणा पनि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्