स्विट्जरल्याण्डमा आज अमेरिका–इरान वार्ता, आणविक कार्यक्रम र शान्ति सम्झौता मुख्य एजेन्डा
काठमाडौं, ७ असार । स्विट्जरल्याण्डमा अमेरिका र इरानबीच आइतबार नयाँ चरणको वार्ता सुरु हुने भएको छ। इरानका सभामुख मोहम्मद बगेर गलिबाफको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलसँग वार्ता गर्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स स्विट्जरल्याण्ड पुगिसकेका छन्।
वार्तामा भान्ससँगै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जारेड कुश्नर पनि सहभागी हुने जनाइएको छ।
यसअघि अमेरिका र इरानबीच युद्ध अन्त्यसम्बन्धी समझदारीपत्र (एमओयू) कार्यान्वयनबारे शुक्रबार हुने तय भएको वार्ता अन्तिम समयमा स्थगित भएको थियो। तर शुक्रबार नै इसराइल र हिजबुल्लाहबीच युद्धविराम भएपछि वार्ताको प्रक्रिया पुनः अघि बढेको हो।
अन्तरिम समझदारीअनुसार अमेरिका, इरान र इसराइलले लेबननसहित विभिन्न मोर्चामा जारी सैन्य गतिविधि स्थायी रूपमा अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन्। साथै, स्ट्रेट अफ हर्मुज खुला राख्ने र वार्तामार्फत ६० दिनभित्र दीर्घकालीन शान्ति सम्झौतामा पुग्ने लक्ष्य तय गरिएको छ।
वार्ताको मुख्य एजेन्डामा इरानको आणविक कार्यक्रम, प्रशोधित युरेनियमको व्यवस्थापन, क्षेत्रीय सुरक्षा तथा दीर्घकालीन शान्ति सम्झौताका आधार तय गर्ने विषयहरू रहेका छन्। दुवै पक्षबीच यी मुद्दामा सहमति जुटे अन्तिम सम्झौताका लागि मार्ग प्रशस्त हुने अपेक्षा गरिएको छ।









प्रतिक्रिया दिनुहोस्