रास्वपा महाधिवेशन: आन्दोलनबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण हुने स्वर्णिम वाग्लेको घोषणा

काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्ले ले पार्टी अब आन्दोलनको चरणबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण हुने बताएका छन्।

भरतपुरस्थित हेस्ट हाउस चौर मा आयोजित रास्वपाको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै वाग्लेले पार्टीले अब केवल विरोधको राजनीति नभई शासन, परिणाम र उत्तरदायित्वको राजनीति गर्ने बताएका हुन्।

“आजदेखि हामी आफूलाई आन्दोलनको पार्टीबाट संस्थागत राजनीतिक शक्तिमा रूपान्तरण गर्दैछौं,” उनले भने, “नयाँ पुस्ताले केवल प्रश्न सोध्न मात्र होइन, उत्तर दिन, शासन चलाउन र परिणाम दिन पनि सक्छ भन्ने प्रमाणित गर्नुपर्छ।”

वाग्लेले रास्वपाको जन्म नेपाली समाजमा लामो समयदेखि सञ्चित निराशा, आक्रोश र सकारात्मक परिवर्तनको आकांक्षाको राजनीतिक अभिव्यक्ति भएको बताए। उनले विगतका राजनीतिक आन्दोलनले लोकतन्त्र, संविधान र समावेशिताको आधार तयार गरे पनि लोकतन्त्रको गुणस्तर अपेक्षाअनुसार विकास हुन नसकेको टिप्पणी गरे।

उनका अनुसार नेपालको मुख्य समस्या स्रोत वा सम्भावनाको अभाव नभई गलत राजनीतिक तथा आर्थिक प्रोत्साहन संरचना हो। “इमानदार मानिसलाई राजनीतिमा प्रवेश गर्न कठिन र पहुँचवालालाई सफल हुन सजिलो हुने प्रणाली बनेको छ,” उनले भने।

वाग्लेले रास्वपाको उद्देश्य केवल सरकार परिवर्तन नभई राजनीतिक संस्कार परिवर्तन रहेको उल्लेख गर्दै भागबण्डाको राजनीतिबाट योग्यता र क्षमतामा आधारित शासन प्रणालीतर्फ जानुपर्ने धारणा राखे।

उनले उदार लोकतन्त्र, प्रतिस्पर्धी अर्थतन्त्र, समन्यायिक समाज र सक्षम राज्य निर्माणलाई रास्वपाको दीर्घकालीन राजनीतिक दृष्टिकोणका रूपमा प्रस्तुत गरे। युवाले अवसरका लागि विदेशिनु नपर्ने, किसान र श्रमिकले सम्मानपूर्वक जीवनयापन गर्न सक्ने तथा उद्यमीले निर्भय भएर लगानी गर्न सक्ने नेपाल निर्माण पार्टीको लक्ष्य रहेको उनको भनाइ थियो।

सम्बोधनको अन्त्यमा वाग्लेले प्रथम महाधिवेशनलाई केवल संगठनात्मक कार्यक्रम नभई नेपालको “राजनीतिक पुनर्जागरणको प्रारम्भ” का रूपमा चित्रण गर्दै निराशालाई आशा, आक्रोशलाई निर्माण र विद्रोहलाई रूपान्तरणमा बदल्ने अभियानमा सहभागी हुन आह्वान गरे।

प्रतिक्रिया दिनुहोस्