रास्वपाको महाधिवेशन उद्घाटन सत्रमा गृहमन्त्री गुरुङ मञ्चमा, अन्य मन्त्री दर्शकदीर्घामा

काठमाडौं, ७ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ। उद्घाटन सत्रमा पार्टीका केन्द्रीय पदाधिकारी तथा आमन्त्रित नेताहरूलाई मञ्चमा आसन ग्रहण गराइएको छ भने सरकारका मन्त्री, सांसद र केन्द्रीय सदस्यहरूलाई दर्शकदीर्घाको अगाडिको पंक्तिमा बस्ने व्यवस्था गरिएको छ।

यद्यपि, पार्टी पदाधिकारी नरहेका गृहमन्त्री सुदन गुरुङ मञ्चमै बसेका छन्। प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछाने सँगै कार्यक्रमस्थल पुगेका गुरुङ सुरुआतमा मञ्च नजिक उभिएका थिए। त्यसपछि उनले आफैंले कुर्सी तानेर प्रधानमन्त्री शाहको पछाडि राखी मञ्चमा आसन ग्रहण गरेका हुन्।

उता, संघीय मामिला मन्त्री प्रतिभा दर्शकदीर्घाको पहिलो लहरमा बसेकी छन्। त्यसैगरी सञ्चार मन्त्री विक्रम तिमिल्सिना र स्वास्थ्य मन्त्री निशा मेहेता पनि दर्शकदीर्घामै रहेका छन्।

पार्टीका पदाधिकारीसमेत रहेका मन्त्रीहरू स्वर्णिम वाग्ले, शिशिर खनाल र सोविता गौतम भने मञ्चमा आसन ग्रहण गरेका छन्।

गृहमन्त्री गुरुङको मञ्चमा उपस्थितिले उद्घाटन सत्रमा विशेष चासो र चर्चा उत्पन्न गरेको छ।

प्रतिक्रिया दिनुहोस्