रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्दै दीपक बोहराले मागे प्रतिनिधिको साथ

काठमााडौं, ७ असार । दीपक बोहरा ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।

पार्टीका संस्थापक सदस्यसमेत रहेका प्रतिनिधिसभा सदस्य बोहराले आइतबार सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै वैकल्पिक राजनीतिको यात्रामा आफूले निर्वाह गरेको भूमिकालाई निरन्तरता दिन नेतृत्व तहमा पुग्न चाहेको बताएका हुन्।

पार्टी स्थापनादेखिका संघर्ष, चुनौती र उतारचढावलाई स्मरण गर्दै उनले कठिन परिस्थितिमा समेत आफू पार्टीको अभियानबाट विचलित नभएको उल्लेख गरेका छन्। सुरुवाती दिनमा रास्वपाको अभियानलाई क्षणिक उत्साहका रूपमा व्याख्या गरिए पनि आफूहरू दृढतापूर्वक अघि बढेको उनको भनाइ छ।

बोहराले पार्टी सभापति रवि लामिछाने विरुद्ध राजनीतिक प्रतिशोध साँधिएको दाबी गर्दै अप्ठ्यारो परिस्थितिमा पनि पार्टी र नेतृत्वको पक्षमा उभिएको बताएका छन्। उनले न्यायको पक्षमा देशव्यापी ४० लाख हस्ताक्षर संकलन अभियानको नेतृत्व गरेको स्मरण गराउँदै उक्त अभियान कुनै एक व्यक्तिका लागि नभई न्यायको पक्षमा केन्द्रित रहेको स्पष्ट पारे।

सांसद बोहराले निर्वाचन जितेर सत्ता र संसद्मा पुग्नु मात्र पर्याप्त नभएको उल्लेख गर्दै जनविश्वास जोगाउने, पार्टीलाई जनउत्तरदायी बनाउने र नेतृत्वलाई सही दिशामा अघि बढाउनुपर्ने चुनौती रहेको बताएका छन्।

उनले विगतमा ‘घण्टीका उम्मेदवार जिताउने’ प्रतिबद्धता पूरा भएको दाबी गर्दै अब पार्टीलाई थप सशक्त, जनमुखी र उत्तरदायी बनाउन आफ्नो भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गरेका छन्।

महाधिवेशन प्रतिनिधिहरूसँग समर्थनको अपिल गर्दै बोहराले आफ्नो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि संघर्षको सम्मान, कार्यकर्ताको आवाजको प्रतिनिधित्व र पार्टीको सुदृढ भविष्य निर्माणसँग जोडिएको बताएका छन्। उनले पार्टीको कठिन यात्रामा सँगै रहेका साथीहरूबाट विश्वास र समर्थन प्राप्त हुने अपेक्षा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्