रास्वपा महाधिवेशन उद्घाटनमा गगन थापा सहभागी हुने, शीर्ष नेताहरू चितवनमा जुट्दै
काठमााडौं, ७ असार । चितवनको भरतपुरमा आजदेखि सुरु हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको उद्घाटन सत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन्।
सभापति थापाका स्वकीय सचिव शंकर कुइँकेलका अनुसार थापा आज चितवन पुगेर महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ।
रास्वपाले आफ्नो प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरेको छ। सोहीअनुसार नेपाली कांग्रेसका सभापति थापासहित अन्य दलका नेताहरू पनि उद्घाटन कार्यक्रममा सहभागी हुने भएका हुन्।
महाधिवेशनको पूर्वसन्ध्यामा सभापति थापाले रास्वपा र पार्टी सभापति रवि लामिछानेलाई शुभकामना व्यक्त गर्दै छोटो अवधिमै रास्वपाले उल्लेखनीय जनसमर्थनसहित राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति स्थापित गरेको बताएका थिए।
शुभकामना सन्देशमा उनले संगठन निर्माणदेखि निर्वाचनसम्मको यात्रालाई प्रशंसनीय भन्दै महाधिवेशनलाई विचार, संगठन र नीतिगत रूपमा पार्टीलाई अझ परिपक्व, जिम्मेवार र दूरदर्शी बनाउने ऐतिहासिक अवसरका रूपमा उल्लेख गरेका छन्।
थापाले लोकतान्त्रिक मूल्य–मान्यता र संविधानप्रदत्त नागरिक अधिकारको संरक्षणका लागि महाधिवेशनले पार्टीलाई थप स्पष्ट, जवाफदेही र उत्तरदायी बनाउने विश्वास व्यक्त गरेका छन्।
उद्घाटन समारोहमा नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली, नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी हुने कार्यक्रम रहेको छ।
यसैबीच, रास्वपाका वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन शाह पनि परिवारसहित महाधिवेशनमा सहभागी हुन चितवन प्रस्थान गरिसकेका छन्। महाधिवेशनमा पार्टीको आगामी राजनीतिक दिशा, संगठन विस्तार र नीतिगत विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ।









प्रतिक्रिया दिनुहोस्