सरकार कानुनी राज्य कमजोर पार्दै गएको आरोप, लोकतान्त्रिक संरचना जोगाउन सजग रहन आग्रह: नैनसिंह महर

काठमाडौं, असार ५ — नैनसिंह महर ले वर्तमान सरकारले कानुनी राज्यको धज्जी उडाउँदै लोकतान्त्रिक र संवैधानिक व्यवस्थालाई कमजोर बनाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको १३औं साधारण सभामा बोल्दै उनले विदेशमा काम गरेर रेमिट्यान्स पठाउने लाखौं नेपाली श्रमिकको योगदानले देशको अर्थतन्त्र धानेको उल्लेख गरे।

उनका अनुसार प्रत्येक रेमिट्यान्स पछाडि परिवारको सपना, आमाको प्रतीक्षा र बालबालिकाको भविष्य जोडिएको हुन्छ, त्यसैले श्रमिकको सम्मान र अधिकारको संरक्षण सबैको साझा दायित्व हो।

महरले सरकारले वैदेशिक रोजगार व्यवसायीहरूलाई कमजोर पार्ने प्रयास गरिरहेको दाबी गर्दै यसप्रति चिन्ता व्यक्त गरे।

उनले लोकतान्त्रिक मूल्य, विधिको शासन र संविधानप्रतिको प्रतिबद्धता कमजोर हुन नदिन सबै पक्ष सजग रहनुपर्ने बताए।

‘यदि कुनै शक्ति वा प्रवृत्तिले लोकतान्त्रिक र संवैधानिक संरचना कमजोर पार्ने प्रयास गर्छ भने नागरिक समाज, राजनीतिक दल, निजी क्षेत्र र आम नागरिक सबै सजग हुन आवश्यक छ,’ उनले भने।

उनले वैदेशिक रोजगार क्षेत्रलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनुपर्ने तथा विदेशबाट प्राप्त सीप, पूँजी र अनुभवलाई राष्ट्रिय समृद्धिसँग जोड्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्