श्रमप्रतिको नकारात्मक दृष्टिले देश गरिब बनेको हो: हर्कराज राई

काठमाडौं, असार ५ — हर्कराज राई ले श्रमप्रति समाजमा रहेको नकारात्मक धारणा नै मुलुकको गरिबीको प्रमुख कारण भएको बताएका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकमा आर्थिक विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै उनले श्रम शक्तिलाई अभियानको रूपमा अघि बढाउन सके देशको सम्पदा सम्पत्तिमा रूपान्तरण गर्न सकिने बताए।

उनले श्रमलाई सम्मान गर्न सबैलाई आह्वान गर्दै काम गर्ने मानिसप्रतिको सामाजिक दृष्टिकोण परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए।

उनका अनुसार, समाजले लामो समयदेखि काम गर्ने श्रमिकलाई हेयको दृष्टिले हेर्ने, विभेद गर्ने र श्रमलाई कम मूल्याङ्कन गर्ने प्रवृत्ति कायम राखेको छ।

‘काम गर्ने मानिसलाई घिनाउने, पसिना बगाउनेलाई अल्छी मान्ने परम्परा अझै परिवर्तन भएको छैन,’ उनले भने, ‘कामलाई माया गर्ने संस्कृति विकास गर्न आवश्यक छ।’

राईले श्रम नै आर्थिक विकासको मूल आधार भएको उल्लेख गर्दै श्रमप्रतिको सकारात्मक धारणा र शिक्षा प्रणालीमा सुधार आवश्यक रहेको पनि बताए।

उनले श्रमको सम्मान गर्ने अभियान सञ्चालन भइरहेको दाबी गर्दै श्रमलाई केन्द्रमा राखेर विकास नीति अघि बढाउनुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्