एमाले लुम्बिनीका अधिकांश नेता ओलीले अध्यक्ष पद छाड्नुपर्ने पक्षमा

काठमाडैं, असार ५, नेपाल कम्युनिष्ट पार्टी (एमाले) लुम्बिनी प्रदेशका अधिकांश नेताले पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणा राखेका छन्।

पार्टी समीक्षा तथा पुनर्गठन कार्यदलद्वारा कपिलवस्तुमा बिहीबार आयोजित सुझाव सङ्कलन कार्यक्रममा सहभागी नेतामध्ये बहुमतले अध्यक्ष पदमा नयाँ नेतृत्व आवश्यक रहेको मत व्यक्त गरेका हुन्।

सचिव छविलाल विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रामबहादुर थापा, विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायत लुम्बिनी प्रदेशका नेता सहभागी थिए।

सुझाव सङ्कलनका लागि १०९ जना नेतालाई आमन्त्रण गरिएकोमा ७४ जना उपस्थित भएका थिए। उपस्थितमध्ये ६८ जनाले आफ्नो धारणा राखेका थिए।

बैठकमा अध्यक्ष ओलीले निरन्तर नेतृत्व गर्नुपर्ने पक्षमा पाँच जनाले मत व्यक्त गरेका थिए। त्यस्तै, ओलीले निरन्तरता दिए पनि हुने वा नयाँ नेतृत्व आए पनि हुने भन्ने मध्यम धारणा राख्ने नेताको सङ्ख्या छ जना रहेको बताइएको छ।

यता, अध्यक्ष ओलीले नेतृत्वबाट अलग हुनुपर्ने पक्षमा ५७ जनाले धारणा राखेका थिए। सुझाव प्रस्तुत गर्ने कुल नेतामध्ये यो सङ्ख्या ८३ प्रतिशतभन्दा बढी रहेको बताइएको छ।

बैठकका क्रममा पार्टी रूपान्तरणसम्बन्धी विचार समेटिएको प्रचार सामग्रीसमेत वितरण गरिएको जनाइएको छ।

एमालेभित्र नेतृत्व, संगठन र भावी कार्यदिशाबारे छलफल तीव्र भइरहेका बेला लुम्बिनी प्रदेशबाट आएको यो धारणालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्