चिया निर्यात अवरोध हटाउन कूटनीतिक पहलको माग, झापा–इलामका उद्योग बन्द हुने अवस्था
काठमााडौं , ४ असार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कोशी प्रदेश कमिटीले नेपाली चिया निर्यातमा देखिएको अवरोधका कारण झापा, इलाम र पाँचथरका चिया उद्योग बन्द हुन थालेको भन्दै समस्या समाधानका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारसँग माग गरेको छ।
प्रदेश अध्यक्ष घनश्याम खतिवडाले बिहीबार जारी गरेको विज्ञप्तिमा भारतीय पक्षले नेपाली तयारी चियाको आयातमा अवरोध सिर्जना गरेपछि दर्जनौं चिया उद्योग पूर्ण रूपमा बन्द भएको उल्लेख गरिएको छ। यसबाट करिब ६० हजार मजदुर प्रत्यक्ष प्रभावित भएको दाबी गरिएको छ।
विज्ञप्तिअनुसार चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो पत्तीको उचित मूल्य नपाउने, उद्योग सञ्चालनमा कठिनाइ हुने तथा हजारौं श्रमिकको रोजगारी र आयआर्जनमा गम्भीर असर पर्ने अवस्था सिर्जना भएको छ।
कोशी प्रदेशमा देशको करिब ९८ प्रतिशत चिया उत्पादन हुने उल्लेख गर्दै विज्ञप्तिमा चिया क्षेत्र प्रदेशको प्रमुख आर्थिक आधार भएको र पटक–पटक देखिने समस्याले समग्र आर्थिक गतिविधि प्रभावित हुने चेतावनी दिइएको छ।
एमाले कोशी प्रदेश कमिटीले नेपाल सरकारलाई भारतीय पक्षसँग उच्चस्तरीय कूटनीतिक संवाद, वार्ता र समन्वयमार्फत समस्या समाधान गर्न आग्रह गरेको छ। साथै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध, व्यापारिक सहकार्य र पारस्परिक हितलाई ध्यानमा राख्दै समस्या छिटो समाधान गर्न भारतीय पक्षलाई समेत अनुरोध गरिएको छ।
कमिटीले चिया किसान, मजदुर तथा उद्योगी–व्यवसायीको पक्षमा रहेको जनाउँदै चिया क्षेत्रका समस्याको दीर्घकालीन समाधानका लागि निरन्तर पहल र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।









प्रतिक्रिया दिनुहोस्