लेबी नतिर्ने प्रतिनिधिलाई रास्वपाको महाधिवेशनमा सहभागी नगराउने निर्णय

काठमााडौं , ४ असार ।  राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) ले लेबी नबुझाउने प्रतिनिधिहरूलाई आसन्न महाधिवेशनमा सहभागी नगराउने निर्णय गरेको छ।

केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले आगामी असार ७, ८ र ९ गते चितवनको भरतपुरमा हुने पहिलो महाधिवेशनका लागि लेबी बुझाएका प्रतिनिधिहरूलाई मात्र सहभागी गराउने निर्णय गरेको हो। पार्टीकी कोषाध्यक्ष लिमा अधिकारीका अनुसार तहगत रूपमा बुझाइने लेबीको विवरण केन्द्रमा रुजु गरेर मात्र प्रतिनिधिहरूको सहभागिता सुनिश्चित गरिनेछ।

पार्टी संरचनाअनुसार मन्त्री, सांसददेखि केन्द्रीय सदस्य र महाधिवेशन प्रतिनिधिहरू सबैले तहगत रूपमा लेबी बुझाउनुपर्ने व्यवस्था छ। तर पुरानो लेबी बाँकी रहेका प्रतिनिधिहरूलाई पहिले चुक्ता गर्न निर्देशन दिइएको पार्टी स्रोतले जनाएको छ।

सोही बैठकले पार्टी संरचनामा महत्वपूर्ण संशोधन गर्ने निर्णय पनि गरेको छ। चुनावअघि सम्भावित एकताका सन्दर्भमा सिर्जना गरिएको ‘वरिष्ठ नेता’ पदलाई विधानमा समावेश गर्ने निर्णय गरिएको छ। उक्त पद पार्टी सभापति रवि लामिछानेपछि दोस्रो वरीयतामा रहने गरी राखिएको हो।

यसैगरी केन्द्रीय समितिको आकार १२१ बाट बढाएर १५१ सदस्यीय बनाउने निर्णय गरिएको छ। यद्यपि विधान संशोधन समितिले १३६ सदस्यीय संरचना प्रस्ताव गरेको थियो।

पदाधिकारी संरचनामा पनि विस्तार गर्दै १९ सदस्यीय बनाउने निर्णय गरिएको छ। नयाँ व्यवस्थाअनुसार एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति (एक महिला अनिवार्य), दुई महामन्त्री, पाँच सह–महामन्त्री (एक महिला अनिवार्य), एक प्रवक्ता, तीन सह–प्रवक्ता (एक महिला अनिवार्य), एक कोषाध्यक्ष र दुई सह–कोषाध्यक्ष रहने व्यवस्था गरिएको छ।

पार्टीले आगामी महाधिवेशनलाई संगठनात्मक सुदृढीकरण र संरचनागत पुनर्संरचनाको महत्वपूर्ण चरणका रूपमा लिएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्