रास्वपाले विधानमा ‘वरिष्ठ नेता’ पद समावेश गर्ने निर्णय
काठमााडौं , ४ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) ले पार्टी विधानमा ‘वरिष्ठ नेता’ पद समावेश गर्ने निर्णय गरेको छ।
केन्द्रीय कार्यालयमा बिहीबार बसेको सचिवालय बैठकले आगामी महाधिवेशनलाई लक्षित गर्दै विधान संशोधनमार्फत उक्त पदलाई औपचारिक संरचनामा समावेश गर्ने निर्णय गरेको हो। पार्टीले यसअघि चुनावअघि सम्भावित एकताका सन्दर्भमा सिर्जना गरिएको उक्त पदलाई अब संस्थागत रूप दिएको बताइएको छ।
पार्टी स्रोतका अनुसार सहमहामन्त्री विपिन आचार्यको संयोजकत्वमा बनेको विधान संशोधन समितिको प्रतिवेदनमा वरिष्ठ नेता पद समावेश गर्ने प्रस्ताव नभए पनि सचिवालय बैठकले त्यसलाई अनुमोदन गरेको हो।
बैठकले पार्टी संरचना विस्तार गर्दै केन्द्रीय समितिको आकार १२१ बाट बढाएर १५८ सदस्यीय बनाउने निर्णय पनि गरेको छ। यद्यपि, विधान संशोधन समितिले १३६ सदस्यीय केन्द्रीय समिति प्रस्ताव गरेको थियो।
त्यसैगरी, पदाधिकारी संरचना विस्तार गर्दै १९ सदस्यीय बनाउने निर्णय पनि गरिएको छ। नयाँ संरचनाअनुसार एक सभापति, एक वरिष्ठ नेता, तीन उपसभापति (एक महिला अनिवार्य), दुई महामन्त्री, पाँच सह-महामन्त्री (एक महिला अनिवार्य), एक प्रवक्ता, तीन सह-प्रवक्ता (एक महिला अनिवार्य), एक कोषाध्यक्ष तथा दुई सह-कोषाध्यक्ष रहने व्यवस्था गरिएको छ।
पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा बसेको बैठकले आगामी संगठनात्मक पुनर्संरचना र महाधिवेशन तयारीलाई ध्यानमा राख्दै यी निर्णयहरू गरिएको जनाएको छ।









प्रतिक्रिया दिनुहोस्