ठूला आयोजनाका लागि बजेट अभाव हुँदैन : मन्त्री लम्साल
काठमााडौं , ४ असार । सुनिल लम्सालले राजमार्गलगायत ठूला पूर्वाधार आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्था गरिएको बताएका छन्।
बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयअन्तर्गतको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री लम्सालले बहुवर्षीय आयोजनाहरू बजेट अभावका कारण प्रभावित नहुने स्पष्ट पारे।
उनले बजेट पुस्तिकामा केही आयोजनाका लागि कम रकम देखिए पनि त्यसकै आधारमा बजेट अपुग हुने निष्कर्षमा पुग्न नहुने बताए। उनका अनुसार राजमार्ग तथा अन्य ठूला पूर्वाधार आयोजनाहरू बहुवर्षीय प्रकृतिका हुने भएकाले आवश्यक कुल लागतअनुसार नै ठेक्का प्रक्रिया अघि बढाइन्छ।
“राजमार्गका लागि बजेट कम देखिएको भन्ने गुनासो छ। तर बजेटमा एक अर्ब रुपैयाँ देखियो भन्दैमा त्यति रकमको मात्रै ठेक्का खुल्ने होइन,” उनले भने, “बहुवर्षीय योजनामा आवश्यक कुल लागतअनुसार ठेक्का खुल्छ र निर्माण सम्पन्न गर्न आवश्यक रकमको व्यवस्था गरिन्छ।”
मन्त्री लम्सालले अर्थ मन्त्रालयमा रहेको अबण्डा बजेटमार्फत पनि आवश्यक परेका आयोजनालाई थप स्रोत उपलब्ध गराउन सकिने बताए। यसले निर्माणाधीन आयोजनामा बजेट अभाव नहुने उनको दाबी छ।
सांसदहरूलाई आश्वस्त पार्दै उनले बहुवर्षीय योजनाहरूका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित गरिएको र निर्माण कार्यमा अवरोध नआउने बताए।
उनले राष्ट्रिय महत्वका तथा अत्यावश्यक आयोजनाहरूलाई प्राथमिकतामा राखेर अघि बढाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यकताअनुसार थप निर्णय लिन पनि सरकार तयार रहेको बताए।









प्रतिक्रिया दिनुहोस्