ठेकेदारलाई ‘थर्काएको’ विषयमा मन्त्री लम्सालको स्पष्टीकरण : उद्देश्य काम गराउने मात्र थियो
काठमााडौं , ४ असार । सुनिल लम्सालले ठेकेदारलाई धम्की दिएको आरोपबारे प्रतिनिधि सभामा स्पष्टीकरण दिएका छन्। उनले आफ्नो उद्देश्य ठेकेदारलाई डर देखाउनु नभई समयमा काम सम्पन्न गराउन दबाब सिर्जना गर्नु रहेको बताएका छन्।
केही दिनअघि पृथ्वी राजमार्ग अन्तर्गत धादिङको मुग्लिन–मलेखु सडकखण्डको अनुगमनका क्रममा मन्त्री लम्सालले बिजुलीका पोल स्थानान्तरणमा ढिलाइ भएको भन्दै ठेकेदारको “खुट्टा भाँचिदिन” निर्देशन दिएको अभिव्यक्ति सार्वजनिक भएको थियो। यसअघि उनले ठेकेदार रमेश शर्मालाई प्रहरीमार्फत मन्त्रालयमा बोलाएको विषय पनि विवादमा आएको थियो।
मन्त्रालयगत बजेटमाथिको छलफलका क्रममा ऐन महरले उक्त घटनाबारे प्रश्न उठाउँदै मन्त्रीको अभिव्यक्ति कानुनसम्मत थियो वा थिएन भन्ने विषयमा स्पष्टीकरण मागेका थिए। उनले मन्त्रीको हैसियतमा यस्ता आदेश दिन मिल्ने वा नमिल्नेबारे पनि प्रश्न गरेका थिए।
जवाफमा मन्त्री लम्सालले प्रत्यक्ष रूपमा विवादित अभिव्यक्तिको बचाउ नगरे पनि आफ्नो आशय काम गराउने रहेको बताए।
“ठेकेदार थर्काएको भन्ने कुरा गर्नुभयो, इन्टेन्सन त्यो होइन। इन्टेन्सन नितान्त काम गरोस् भन्ने हो,” उनले भने।
उनले ठेकेदारले काम नगरे ठेक्का रद्द गर्नुपर्ने, बैंक ग्यारेन्टी जफत गर्नुपर्ने र कानुनी प्रक्रियाअनुसार असुलउपर गर्नुपर्ने अवस्था आउने बताए। त्यसले निर्माण कम्पनी र बैंक दुवैलाई समस्या पर्ने भएकाले ठेक्का रद्द गर्नुभन्दा दबाब दिएर काम सम्पन्न गराउने प्रयास गरिएको उनको भनाइ थियो।
मन्त्री लम्सालले निर्माण कम्पनीमाथि कडा कारबाही गर्दा देशमा काम गर्ने सक्षम कम्पनीको संख्या झन् घट्न सक्ने तर्क पनि गरे। “बढीभन्दा बढी दबाब दिएर काम गराउन खोजेको हो। उद्देश्य त्यही हो,” उनले भने, “खुरुखुरु काम गरिदिए हामी खुसी हुन्छौँ। आशय काम सम्पन्न गराउने मात्र हो।”
उनले आफूले कसैलाई गाली गर्ने वा अनावश्यक रूपमा धम्की दिने मनसाय नराखेको समेत बताएका छन्।









प्रतिक्रिया दिनुहोस्