एमालेलाई कमजोर बनाउने प्रयास भइरहेको छ : महेश बस्नेत

काठमाडौं, असार ४ — महेश बस्नेतले दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकताले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी)लाई कमजोर बनाउने प्रयास भइरहेको बताएका छन्।

निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठनबारे प्रदेशस्तरीय भेला र सुझाव सङ्कलन अभियान चलिरहेका बेला सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै बस्नेतले पार्टीको ११औँ महाधिवेशनले “दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकताविरुद्ध संघर्ष” लाई कार्यनीतिक नारा बनाएको स्मरण गराए। तर अहिले त्यही प्रवृत्तिहरूले पार्टीलाई कमजोर पार्न खोजिरहेको उनको भनाइ छ।

बस्नेतले अवसरवादी प्रवृत्तिको आलोचना गर्दै पद, पैसा र प्रतिष्ठाको भोक कहिल्यै नमेटिने व्यक्तिहरूको चरित्रलाई “खानेकुरा पाएपछि केहीबेर शान्त हुने तर फेरि रुन थाल्ने बच्चा” सँग तुलना गरेका छन्। उनले यस्ता व्यक्तिहरूलाई जति दिए पनि सन्तुष्टि नहुने र उनीहरूको चाहना झन् बढ्दै जाने बताए।

उनका अनुसार राजनीतिक दलभित्र व्यक्तिगत स्वार्थलाई सङ्गठन, विचार र सिद्धान्तभन्दा माथि राख्ने प्रवृत्ति बढ्दै गएको छ। यस्तो अवसरवादी सोचविरुद्ध दृढतापूर्वक संघर्ष गर्न आवश्यक रहेको उनले उल्लेख गरेका छन्।

बस्नेतले आन्दोलनलाई वैचारिक रूपमा सुदृढ बनाउँदै, सङ्गठनलाई अनुशासित र एकताबद्ध राख्दै जनताको हित तथा देशको उज्ज्वल भविष्य निर्माणतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्