संसदीय मर्यादा उल्लंघन भएको भन्दै एमाले प्रमुख सचेतक महरको नियमापत्ति
काठमााडौं , ४ असार । नेकपा (एमाले) का प्रमुख सचेतक ऐनबहादुर महरले प्रतिनिधि सभा बैठकमा मन्त्रीहरूले संसदीय मर्यादा र नियमावली उल्लंघन गरेको भन्दै नियमापत्ति जनाएका छन्।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद रमेश मल्लले धारणा राखिरहेका बेला दुई जना मन्त्री सभामुखको आसन र बोलिरहेका सांसदको बीचबाट हिँडेपछि महरले आपत्ति जनाउँदै सभामुखको ध्यानाकर्षण गराएका हुन्।
प्रतिनिधि सभा नियमावलीको नियम २० को उपनियम ६ अनुसार सभामुखको आसन र बोलिरहेका सदस्यको बीचबाट हिँड्न नपाइने व्यवस्था रहेको उल्लेख गर्दै उनले मन्त्रीहरूको व्यवहारले सदनको गरिमा र मर्यादामा आघात पुगेको बताए।
महरले संसदीय अभ्यास र स्थापित नियमको पालना गर्नुपर्ने दायित्व सबै सांसदको भए पनि सरकारका मन्त्रीहरूबाट नै पटक–पटक नियम उल्लंघन भइरहेको भन्दै असन्तुष्टि व्यक्त गरे।
उनले मन्त्रीहरूले जानाजानी संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै उक्त कार्यप्रति घोर आपत्ति र निन्दा व्यक्त गरे। साथै, आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सभामुखबाट स्पष्ट रुलिङ जारी गर्न माग गरे।
महरले सदनको गरिमा, अनुशासन र संसदीय मर्यादा कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन्।









प्रतिक्रिया दिनुहोस्