मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको उच्च प्राथमिकता, उद्धारका लागि सबै स्रोत–साधन परिचालन गरिने : गृहमन्त्री गुरुङ
काठमााडौं , ४ असार । गृहमन्त्री सुधन गुरुङले मनसुनजन्य विपद् व्यवस्थापनलाई सरकारले उच्च प्राथमिकतामा राखेर आवश्यक पूर्वतयारी पूरा गरेको बताएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आयोजना गरेको मनसुन पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटनामा नागरिकको सुरक्षा सुनिश्चित गर्न हेलिकप्टरसहित सुरक्षा निकायका सबै स्रोत–साधन परिचालन गरिने बताए।
गृहमन्त्री गुरुङले विपद् व्यवस्थापनका लागि सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको उल्लेख गर्दै औपचारिक निरीक्षणभन्दा नागरिकको प्रत्यक्ष सुरक्षा, उद्धार र राहत कार्यलाई प्राथमिकता दिइएको बताए। सम्भावित संकटको अवस्थामा छिटो प्रतिक्रिया जनाउन सक्ने संयन्त्र निर्माण गरिएको उनको भनाइ छ।
उनले विगतका सरकारले थालेका सकारात्मक अभ्यासलाई निरन्तरता दिँदै कमजोरी सुधार गरेर अझ प्रभावकारी ढङ्गले काम गरिने बताए।
मनसुनका समयमा पूर्व–पश्चिम राजमार्ग तथा निर्माणाधीन सडक खण्डमा बाढी र पहिरोका कारण यातायात अवरुद्ध हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै गृह मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग समन्वय गरेर विशेष डिजिटल प्रणाली विकास गरेको जानकारी दिए।
उनका अनुसार उक्त प्रणालीमार्फत देशभर रहेका डोजर तथा सडक खुलाउने उपकरणहरूको अवस्थिति तत्काल जानकारी प्राप्त गर्न सकिनेछ। कुनै स्थानमा पहिरो वा सडक अवरोध भएमा नजिकको उपकरण तत्काल परिचालन गरी सडक खुलाउने व्यवस्था मिलाइएको छ।
गृहमन्त्री गुरुङले यस प्रणालीले विगतमा जस्तो यात्रुहरू लामो समयसम्म सडकमा अलपत्र पर्ने अवस्था कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
उनले प्राकृतिक विपद्बाट हुने क्षति न्यूनीकरण, नागरिकको सुरक्षा तथा प्रभावकारी प्रतिकार्यलाई केन्द्रमा राखेर मन्त्रालय अघि बढिरहेको बताए। साथै प्रहरी तथा अन्य सुरक्षा निकायलाई नागरिकमैत्री सेवा दिन निर्देशन दिइएको जानकारी पनि दिए।
अपराध नियन्त्रण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको गुणस्तर सुधारमा कुनै सम्झौता नगर्ने बताउँदै उनले सुरक्षा निकायभित्र कार्यसम्पादनका आधारमा मूल्याङ्कन र बढुवा गर्ने नीति लागू गरिने तथा राजनीतिक दबाब र पहुँचका आधारमा हुने बढुवाको प्रवृत्ति अन्त्य गरिने दाबी गरे।









प्रतिक्रिया दिनुहोस्