शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलद्वारा शिक्षा क्षेत्रमा लगानी वृद्धि गर्ने प्रतिबद्धता
काठमााडौं , ४ असार । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकार शिक्षा क्षेत्रमा लगानी विस्तार गर्दै लैजाने प्रतिबद्धता दोहोर्याएका छन्।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी वृद्धि गर्ने सरकारको लक्ष्यअनुसार आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गरिएको बताए।
मन्त्री पोखरेलका अनुसार विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षाको विकासका लागि बजेट विनियोजन गरिएको छ। उनले स्मार्ट बोर्डको व्यवस्था, आधारभूत तहको सिकाइ उपलब्धि सुधारका लागि फाउन्डेसन लर्निङसम्बन्धी कार्यक्रम तथा शैक्षिक क्षमता विकासका कार्यक्रमहरूलाई प्राथमिकतामा राखिएको जानकारी दिए।
उनले भने, “सरकारको शिक्षा तथा स्वास्थ्य क्षेत्रमा उल्लेख्य लगानी गर्ने प्रतिबद्धताअनुसार आगामी वर्ष शिक्षामा लगानी वृद्धि गरिनेछ। विद्यालय शिक्षादेखि नै डिजिटल शिक्षाका लागि स्मार्ट बोर्डको व्यवस्था, आधारभूत तहको सिकाइ सुधारका लागि फाउन्डेसन लर्निङका कार्यक्रम र क्षमता विकासका लागि बजेट विनियोजन गरिएको छ। विद्यालय पूर्वाधारका लागि १० अर्ब ४५ करोड २४ लाख ४ हजार रुपैयाँ विनियोजन गरिएको छ।”
मन्त्री पोखरेलले केही सांसदहरूले पुँजीगत खर्च कम भएको टिप्पणी गरेको उल्लेख गर्दै शिक्षा क्षेत्रमा धेरै सुधारात्मक काम सञ्चालन खर्चमार्फत पनि हुने भएकाले सबै क्रियाकलाप पुँजीगत बजेटमै सीमित नहुने स्पष्ट पारे।









प्रतिक्रिया दिनुहोस्