महावीर पुनको अनौठो अभिव्यक्ति: ‘देशसँगको पिरतीले मलाई मन्त्री बनायो, अहिले जोगी जस्तै छु’

काठमााडौं , ४ असार ।  विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले प्रतिनिधि सभा बैठकमा भावनात्मक र प्रतीकात्मक शैलीमा दिएको अभिव्यक्ति चर्चामा आएको छ।

बिहीबार मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा मन्त्री पुनले आफू “देशसँग पिरती बस्दा” सांसद हुँदै मन्त्री बनेको टिप्पणी गरे।

उनले आफूलाई पहिले गाउँसँग, त्यसपछि जिल्ला हुँदै अन्ततः देशसँग जोडिएको भावना व्यक्त गर्दै आफ्नो राजनीतिक यात्रा वर्णन गरे। “पहिला गाउँसँग पिरती बस्यो, पछि जिल्ला हुँदै देशसँग पिरती बस्यो,” उनले संसदमा भने।

मन्त्री पुनले पुरानो गीतको स्मरण गर्दै आफूलाई त्यस गीतले वर्णन गरेझैँ “जोगी जस्तो” अनुभूति भएको बताए। उनले व्यावहारिक रूपमा आफूलाई सरल जीवनशैली अपनाउने व्यक्ति भएको उल्लेख गर्दै मन्त्री बनेपछि पनि त्यही स्वभाव कायम रहेको धारणा राखे।

उनको उक्त अभिव्यक्तिले संसदभित्र मात्र होइन, सामाजिक सञ्जालमा पनि चर्चा पाएको छ।

प्रतिक्रिया दिनुहोस्