प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, अर्थमन्त्री वाग्लेलाई जिम्मेवारी
काठमााडौं , ४ असार । प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ स्वयम् नदिने भएका छन्। उक्त जिम्मेवारी अर्थमन्त्री स्वर्णिम वाग्लेलाई दिइएको छ।
प्रतिनिधि सभामा सामान्यतया मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने प्रचलन रहँदै आएको छ। प्रतिनिधि सभा नियमावलीको नियम १४५ को उपनियम (९) मा पनि बजेट छलफलका क्रममा कुनै शीर्षकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले छलफलको अन्त्यमा दिनुपर्ने व्यवस्था छ।
असार १ र २ गते भएको मन्त्रालयगत बजेट छलफलका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र रक्षा मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदहरूले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री शाहले दिनुपर्ने अपेक्षा गरिएको थियो। तर प्रधानमन्त्रीले आफ्नो तर्फबाट अर्थमन्त्री वाग्लेलाई जवाफ दिन जिम्मेवारी सुम्पिएका छन्।
यसअघि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा पनि प्रधानमन्त्रीको सट्टा अर्थमन्त्री वाग्लेले नै जवाफ दिएका थिए। नीति तथा कार्यक्रमको सन्दर्भमा अर्को मन्त्रीले जवाफ दिन सक्ने व्यवस्था नियमावलीमा रहे पनि मन्त्रालयगत बजेट विनियोजनसम्बन्धी छलफलमा सम्बन्धित मन्त्री स्वयंले जवाफ दिने परम्परा रहँदै आएको छ।
राजनीतिक वृत्तमा प्रधानमन्त्री स्वयं उपस्थित भएर जवाफ दिएको भए सांसदहरूले प्रतिप्रश्न गर्ने अवसर पाउने भएकाले यस निर्णयलाई चासोका साथ हेरिएको छ।
यता, प्रतिनिधि सभा नियमावलीअनुसार असारको पहिलो साताभित्र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमको समय निर्धारण हुनुपर्ने भए पनि सभामुख डोलप्रसाद अर्यालले हालसम्म त्यस्तो समय तय गरेका छैनन्।
यस घटनाक्रमसँगै संसदमा प्रधानमन्त्रीको प्रत्यक्ष जवाफदेहिता र संसदीय अभ्यासबारे नयाँ बहस सुरु भएको छ।









प्रतिक्रिया दिनुहोस्