सांसद पोखरेलको चेतावनी: ‘सनकका आधारमा सरकार अघि बढे दुर्घटनाको बाटोमा जान्छ’

काठमााडौं , ४ असार ।  लक्ष्मीप्रसाद पोखरेलले सरकारको कार्यशैलीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सनकका आधारमा शासन सञ्चालन गर्न खोजिए देश दुर्घटनाको दिशामा जाने चेतावनी दिएका छन्।

बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पोखरेलले प्रधानमन्त्री बालेन शाहले जेठ १७ गते संसदमा दिएको अभिव्यक्ति अहिलेसम्म नसच्याइएको र संसदको अभिलेखबाट नहटाइएको भन्दै सरकारको दिशा र नियतमाथि प्रश्न उठाएका हुन्।

उनले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिप्रति स्पष्टीकरण दिनुपर्ने माग गर्दै उक्त भनाइले देश र नेपाली जनताको अपमान भएको दाबी गरे। साथै अर्थमन्त्री र भौतिक पूर्वाधारमन्त्रीका सार्वजनिक अभिव्यक्तिको पनि आलोचना गर्दै सरकारको व्यवहार लोकतान्त्रिक मूल्यअनुकूल नभएको टिप्पणी गरे।

“सनकका आधारमा सरकार अघि बढ्यो भने देश निर्माणको बाटोमा होइन, दुर्घटनाको बाटोमा पुग्छ,” उनले संसदमा भने।

सांसद पोखरेलले कर्मचारीमाथि दबाब सिर्जना गर्ने, अपमानजनक भाषा प्रयोग गर्ने तथा आतंकित पार्ने गतिविधि बढ्दै गएको भन्दै यस्ता प्रवृत्ति राम्रो संकेत नभएको बताए। उनले सार्वजनिक प्रशासनमा कार्यरत कर्मचारीको मनोबल गिराउने गतिविधि रोक्न सरकारसँग आग्रह गरे।

त्यस्तै, उनले चर्चित बीवाइडी (BYD) गाडी खरिद प्रकरणबारे निष्पक्ष छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन्। उनका अनुसार उक्त विषयमा उठेका प्रश्नहरूको सत्यतथ्य सार्वजनिक गर्न संसदमार्फत अनुसन्धान आवश्यक छ।

सांसद पोखरेलले सरकारलाई जिम्मेवार, संयमित र पारदर्शी ढंगले अघि बढ्न आग्रह गर्दै लोकतान्त्रिक संस्थाप्रतिको सम्मान कायम राख्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्