मटिहानीमा सभामुख मण्डलको आरोप: संघीय सरकारले संघीयता कमजोर पार्न खोज्यो
काठमााडौं , ४ असार । रामचन्द्र मण्डलले संघीय सरकारले संघीयतालाई सबल बनाउनुको साटो कमजोर पार्ने दिशामा काम गरिरहेको आरोप लगाएका छन्।
मटिहानी नगरपालिकाको १७औँ नगरसभालाई सम्बोधन गर्दै सभामुख मण्डलले संघीय सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरे। उनले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई संवैधानिक अधिकार प्राप्त सरकारका रूपमा स्वीकार नगरी प्रशासनिक निकायसरह व्यवहार गर्न खोजेको बताए।
मटिहानी नगरपालिकाको उदाहरण दिँदै उनले मानव विकास सूचकाङ्क (एचडीआई) मा पछाडि रहेका क्षेत्रलाई प्राथमिकता दिनुपर्ने भए पनि न्यून अनुदान दिएर विभेद गरिएको दाबी गरे। विपन्न तथा दलित समुदायको बाहुल्यता रहेको मटिहानीले समानीकरण अनुदानतर्फ केवल १० करोड रुपैयाँ प्राप्त गर्नु अन्यायपूर्ण भएको उनको भनाइ थियो।
सभामुख मण्डलले संघीय सरकारले कुल बजेटको करिब ७० प्रतिशत हिस्सा केन्द्रमै राखेर प्रदेश र स्थानीय तहलाई १५–१५ प्रतिशत मात्र विनियोजन गरेको भन्दै यसलाई संघीयताको मर्मविपरीत रहेको टिप्पणी गरे।
उनले संविधानले प्रदान गरेका अधिकारहरूको पूर्ण र निर्वाध प्रयोग गर्न पाउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिँदै संघीयता सुदृढीकरणका लागि प्रदेश र स्थानीय तहलाई थप अधिकार र स्रोतसाधन उपलब्ध गराउनुपर्ने आवश्यकता औंल्याए।
— समाचार स्रोत: राष्ट्रिय समाचार समिति (रासस) (नेपाल समाचार एजेन्सी)









प्रतिक्रिया दिनुहोस्