रक्षा मन्त्रीलाई संसदमा उपस्थित गराउन हर्क साम्पाङको माग

काठमााडौं , ४ असार । श्रम संस्कृति पार्टी संसदीय दलका नेता हर्क साम्पाङले मन्त्रालयगत छलफलका क्रममा रक्षा मन्त्रीलाई प्रतिनिधि सभा बैठकमा उपस्थित गराउन माग गरेका छन्।

बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले रक्षा मन्त्रालयसम्बन्धी छलफल हुने कार्यसूची रहेकाले रक्षा मन्त्रीको उपस्थिति आवश्यक रहेको बताए।

रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहले आफैं सम्हालिरहेका छन्। तर आजको बैठकमा प्रधानमन्त्री तथा रक्षा मन्त्री शाह उपस्थित नभएको भन्दै साम्पाङले सभामुख डोलप्रसाद अर्यालमार्फत उनलाई बैठकमा बोलाउन आग्रह गरे।

“मन्त्रालयगत छलफलमा रक्षा मन्त्रालयबारे पनि छलफल गर्ने भनिएको छ। रक्षा मन्त्रीलाई मैले यहाँ देखेको छैन, उहाँलाई बोलाइयोस्,” साम्पाङले बैठकमा भने।

उनले यसअघि प्रधानमन्त्री शाहले सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिप्रति आफ्नो पार्टीको असहमति कायमै रहेको पनि बताए। उक्त अभिव्यक्ति संसद्को अभिलेखबाट हटाउनुपर्ने माग अझै कायम रहेको उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्